महोत्तरी, ९ साउन । महोत्तरीमा मिडिया व्यवसायीले नै मिटर व्याजवाट पीडित बनाएको आरोपमा पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जिल्लाको बर्दिबासमा प्रभात सन्देश नामक पत्रिका सञ्चलन गर्दै आएका आशा तोलाङ्गे र मनोज थापाविरुद्ध उनीहरूले निवेदन दिएका हुन् । बर्दिबास–३ मा स्थायी घर भएका दुवै जना श्रीमान्, श्रीमती हुन् ।
घर छेउमा नै बसोबास गर्ने उनीहरूका छिमेकी र आफ्न्तले आफूहरू पीडित भएको भन्दै प्रशासन कार्यालयमा आज निवेदन लिएर आएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । निवेदन दिनेमध्य रामकुमार परियारले ४ लाख ९५ हजार सावा ऋण लिएर ७ लाख ९५ हजार बुझाउँदा पनि जालसाजी गरेर आफ्नो घर नै उनीहरूले आफ्नो नाममा बनाएको निवेदनमा उल्लेख गर्नुभएको छ ।
उनीहरूकै कारणले आफू सडकमा आइपुगेको र बत्ती, पानी आफ्नो नाममा ल्याएर घरबाट निकाल्ने धम्की दिँदै आएको पीडित परियारले बताउनुभएको छ । त्यसैगरी अर्का पीडित अनिता तोलाङ्गेले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी छन् । घरायसी खर्चको लागी मिडिया व्यवसायी तोलाङ्गेसगँ २ लाख ५० हजार ऋण लिएको र उक्त ऋण ५० प्रतिशत भन्दा बढी चर्को ब्याज तिरेर सावासमेत चुक्ता गर्दा पनि विभिन्न घरमा आएर धम्की दिने गरेको उहाँको भनाइ छ ।
परियार र तोलाङ्गे जस्तै अन्य दुई जनाले पनि मिडिया व्यवसायी तोलाङ्गेका विरुद्ध न्यायको माग गर्दै निवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । नेपाल पत्रकार माहासंघ महोत्तरीको कार्यसमिति सदस्यसमेत रहेकी तोलाङ्गेका विरुद्ध परेको निवेदनमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाइसकिएको पनि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । पत्रकारिताको आडमा चर्को ब्याज असुलेर ठगी धन्दा गरेको भन्दै उनीहरूका छिमेकी एकाएक सार्वजनिक भएपछि घटना बाहिरिएको हो ।
प्रतिक्रिया दिनुहोस्