जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार १२:०३

एटीएम ह्याक प्रकरण : १३ वटा बैंकका एटीएम बुथबाट लुटियो तीन करोड ५८ लाख 


काठमाडौं, भदौ १९ । एटीएम ह्याक गर्ने चिनियाँ टोलीले १३ वटा बैंकका एटीएम बुथबाट तीन करोड ५८ लाख रुपैयाँ लुटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गठन गरेको छानविन समितिले बुधबार प्रतिवेदन बुझाउँदै यस्तो निश्कर्ष निकालेको हो । समितिले कुन बैंकबाट कति रकम लुटियो भन्ने विवरण पनि बुझाएको छ ।

यसैबीच एटीएम ह्याक प्रकरण अध्ययनका लागि विदेशी विज्ञ टोली नेपाल आएको छ । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को आग्रहमा सिङगापुरबाट गए राति फरेन्सिक विज्ञ टोली नेपाल आएको हो । टोलीले एटीएमबाट पैसा चोरीका घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको थियो, त्यो पत्ता लगाउनेछ । टोलीमा दुईजना विज्ञ सहभागी छन । आज (बिहीबार) देखि नै फरेन्सिक टोलीले अध्ययन अध्ययन गर्ने छ ।

एटिएमको स्विच नै ‘ह्याक’ चोरी

बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो । एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल भए पनि बैंकिङ प्रणालीको सुरक्षामा चुनौती भने यथावत् छ ।

उक्त घटनामा पहिचान गरिएका आठ चिनियाँ नागरिकमध्ये छ जना पक्राउ परे । फरार दुई जनाका बारेमा प्रहरीले कुनै तथ्य पत्ता लगाउन सकेको छैन । प्राविधिक विषय भएकाले पनि अनुसन्धानमा ठूलो चुनौती खडा भएको छ । प्रहरीले विभिन्न नाकामा राखिएको र एटिएम बुथमा रहेको सिसी टिभीको श्रव्यदृश्यलाई अनुसन्धानमा प्रयोग गरिरहेको छ ।

स्विच नै ह्याक

यसअघि पिनकोड चोरेर व्यक्तिको रकम निकालिएका घटना थिए । यो पटक स्विच नै ह्याक गरेर बैंकको पैसा निकालिएकाले पनि प्रहरीलाई अनुसन्धानमा थप चुनौती छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी ह्याकरले व्यक्तिको पैसाभन्दा बैंकको पैसा निकाल्नुले पनि उनीहरुको योजना धेरै रकम निकाल्नु रहेको भन्दै फरक प्रकृतिको घटना भएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको जानकारी दिनुभयो ।

इन्टरपोललाई पत्राचार

उनीहरु सबै एकै समयमा काठमाडौँ छिरेका थिए । घटनाको थप कारण पत्ता लगाउन परिसरले इन्टरपोललाई पनि पत्राचार गरिसकेको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) समेत अनुसन्धानमा खटिएको छ । अनुसन्धान जटिल भएकाले प्रहरीले राष्ट्र बैंकबाट विज्ञ टोली मगाएको छ । विश्वभाषा क्याम्पसबाट पनि आवश्यक सहयोग लिइएको छ । विशेषज्ञको उपस्थितिमा काम गर्नुपर्ने भएकाले पनि जटिलताहरु आइरहेको प्रहरीले जनाएको छ ।

किन रोजियो शनिबार

नेपालको बैंकिङ प्रणालीमा नै सशङ्कित पार्ने गरी गत शनिबार काठमाडौँमा उक्त घटना भएको थियो । अपराह्न पटक–पटक गरी शङ्कास्पदरूपमा एक करोड ८९ लाख रकम विभिन्न बैंकबाट निकालिएको घटनाले बैंकिङ क्षेत्र तरङ्गित भएको हो । झण्डै सात वटा बैंकबाट पैसा निकालिएको बताउँदै प्रहरीले दरबारमार्ग्स्थित नबिल बैंकको एटिएम बुथबाट अधिकांश बैंकको रकम निकालिएको बताएको छ । एटिएमका गार्डले विदेशी नागरिकको शङ्कास्पद गतिविधि देखेपछि बैंकमा खबर गरेका थिए । सोही सूचना बैंकमार्फत आएपछि प्रहरी नायब उपरीक्षक बोगटीकै नेतृत्वमा प्रहरी टोली दरबारमार्ग पुग्दा चिनियाँ नागरिक झू लियाङयाङ पैसा निकाल्दै गर्दा फेला पारेका थिए ।

साँचोका आधारमा होटलसम्म

खानतलासी गर्दा उनीसँग २० थान नक्कली एटिएम कार्ड र भर्खरै निकालिएको रु ४५ हजार फेला परेपछि एटिएम बुथ नै ह्याक गरेर करोडौँ रकम निकालेको रहस्य खुल्यो । भाषा नबुझेपछि उनीसँग रहेको होटेलको साँचोका आधारमा प्रहरी हात्तीसारस्थित होटलमा पुगेको थियो । होटलको कोठा नं २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा अन्य चार ह्याकर भाग्दै गर्दा पक्राउ परेका थिए । प्रहरी जुन लिफ्टबाट ६ तलामाथि चढ्दै थियो ह्याकरहरु बाहिरिन त्यही लिफ्ट कुरेर बसेका बेला पक्राउ परेका थिए ।

एटिएम बुथबाट झू लियाङ्याङ र होटलबाट लुओ जियालेइ, लिन जियानमेङ, किऊ युनकिङ र चेन विनविन पक्राउ परेका थिए । चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुई ली भाग्ने क्रममा आइतबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरुले नक्कली भिसाकार्ड प्रयोगबाट विभिन्न बैंकको डाटा ह्याक गरेर एटिएम बुथबाट एकै दिनमा झण्डै दुई करोड निकालेका थिए । प्रहरीले यस्तो प्रकृतिको घटना अहिलेसम्म नभएको दाबी गर्दै आएको छ ।

मनी एक्सचेन्ज सञ्चालक पक्राउ

फरार रहेका चिनियाँ ह्याकरबाट गैरकानूनी रुपमा डलर सटही गरेका ठमेलस्थित डेक्सो मनि एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान र प्रबन्धक रेवती दुवाडी सोमबार पक्राउ गरेको छ । ह्याकरले एटिएमबाट निकालिएको रु २९ लाख ९९ हजारबाट २९ हजार ८६२ अमेरिकी डलर शनिबार नै उनीहरुसँग साटेका थिए ।