जनता टाइम्स

१४ श्रावण २०८०, आईतवार २०:१६

महासंघको नेतृत्वले आर्थिक अनियमितता र पदको चरम दुरुपयोग गरेको भन्दै चौतारीले प्रशासनमा बुझायो ज्ञापनपत्र


दोलखा, १४ साउन । नेपाल पत्रकार महासंघ दोलखा शाखाको नेतृत्वले आर्थिक अनियमिततालगायत पदको चरम दुरुपयोग गरेको भन्दै प्रेस चौतारी नेपाल दोलखाले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ । महासंघ नेतृत्वले गरेको आर्थिक अनियमिततालगायत अबाञ्छित गतिविधि रोक्न माग गर्दै आज प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेललगायतको टोलीले महासंघका अध्यक्ष दिपशङ्कर चौलागाँईलाई पनि ज्ञापनपत्र बुझाएको हो ।

पत्रकार महासंघ बागमती प्रदेश समितिको जिरीमा सम्पन्न साधारणसभामा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा संलित आर्थिक श्रोतको संस्थागत अभिलेख नराखी हिसाब सार्वजनिक नगरेको, पत्रकार महासङ्घको नाम जोडेर महासङ्घको बदनाम हुनेगरी अध्यक्ष चौलागाँईले विभिन्न सार्वजनिक निकायबाट व्यक्तिगत रुपमा लाभ लिएको विषयमा पारदर्शी रुपमा हिसाबकिताब सार्वजनिक गर्न प्रेस चौतारीले माग गरेको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा सञ्चालित सहायता कक्षबाट भएको आम्दानीको अनियमितता गरेको, कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा पत्रकार महासङ्घको लोगो र बैंक खाता दुरुपयोग गरी भएको आम्दानी राजनीतिक रुपमा भागबण्डा गरेको पत्रमा उल्लेख गरेको छ । ज्ञापनपत्रमा उल्लेखित विषयमा तीन दिनभित्र यथार्थ विवरणसहितको हिसाबकिताब सार्वजनिक नगरे कानुनी कारबाहीसहित कार्यालयमा तालाबन्दीदेखि कडा भन्दा कडा आन्दोलन गर्ने प्रेस चौतारी दोलखाले चेतावनी दिएको छ ।