काठमाडौं, १७ साउन । कतारस्थित नेपाली राजदूतावासभित्र गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीलगायत विभिन्न संगठनबीच लफडा भएको छ । एनआरएनए कतारको अधिवेशनको पूर्वाद्धमा गत ८ साउनमा कतारस्थित दूतावासको बैठक कक्षमा भएको सर्वपक्षीय छलफलमा हातपात भएको हो ।
दूतावासको बैठक कक्षमा भएको उक्त लफडापछि नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले आफूमाथि हातपात भएको भन्दै राजदूत नरेशविक्रम ढकाललाई न्यायका लागि निवेदन दिनुभएको छ । एनआरएनए कतार (एनसीसी) ले बोलाएको सर्वपक्षीय बैठकबाट राजदूत ढकाल निस्किनुभएपछि एनसीसीका तत्कालीन अध्यक्ष मोहम्मत मुक्तदाले अनधिकृत व्यक्तिलाई बोलाएर हातपात गरी बल प्रयोग गरेको आरोप भण्डारीले लगाउनुभएको छ ।
‘महामहीमज्यू (राजदूत) ढकाल निस्केपछि एनसीसी अध्यक्षले विधि, विधान र पद्धति बाहिर गएर अनुचित निर्णयमा दस्तखत गर्न बल प्रयोग गरेको, दस्तखत नमान्दा योजनाकार मोहम्मत मुक्तदा र नरेश श्रेष्ठले अब्दुल रहमान, रामबहादुर हमाललगायत गलत प्रवृत्तिका व्यक्तिहरू एक हुल (करिब २०/२५ जना) राजदूतावासको बैठक कक्षभित्र प्रवेश गराई क्रमशः सबैलाई कुटपिटरहातपात गरी भयाभहको स्थिति सिर्जना गराई बैठक कक्षलाई रणमैदानमा परिणत गरेको जानकारी गराउँछु,’ भण्डारीले दूतावासमा पेस गरेको निवेदनमा उल्लेख छ, ‘श्रीमानसमक्ष निज एनसीसी अध्यक्ष मोहम्म मुक्तदा मुसलमानसहित रामबहादुर हमाल, नरेश श्रेष्ठ, अब्दुल रहमानलगायत उक्त कुटपिट घटनामा संलग्न सबैलाई अनुसन्धान गरी हदैसम्मको कारबाही गरी पाऊँ ।’
उहाँले कानुनी आधारका लागि दूतावासको बैठक कक्षमा रहेको सीसी क्यामराको रेकर्डिङ हेरी उनीहरूको पहिचान गर्न सकिने भण्डारीले निवेदनमा उल्लेख गर्नुभएको छ । एनआरएनए कतारको १०औं अधिवेशनअघिको यस घटनामा सानी कुमार ओलीमाथि पनि हातपात भएको थियो । अहिले अधिवेशनबाट रमेश भट्ट अध्यक्ष निर्वाचित भइसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्