सिन्धुपाल्चोक, भदौ १९ । सिन्धुपाल्चोकको मेलम्चीमा गोली चल्दा दुई जना प्रदर्शनकारी घाइते भएका छन । भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बुको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि गोली प्रहार भएको हो ।
घटना हिंसात्मक हुन लागेपछि नियन्त्रणका लागि सुरक्षाकर्मीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको बताएको छ । आज दिउँसो करिब ३ बजे गोली चलेको स्थानीयबासीले बताएका छन । हातमा गोली लागेका मनोज चौधरी र बालमुकुन्द अधिकारीको क्षेत्रीय स्वास्थ्य चौकी मेलम्चीमा उपचार भइरहेको छ । आयोजनाको पूर्वठेकेदार इटालियन कम्पनी (सिएमसी) सँग बाँकी भुक्तानी नपाएको भन्दै आपूर्तिकर्ता मजदुर निरन्तर आन्दोलनमा रहेका छन । बुधबार पनि उनीहरुले मेलम्ची बजारस्थित खानेपानीको कार्यालयमा घेराबन्दी गरेका थिए।
मुहानस्थलमा रहेको अम्बाथानको सुरक्षापोष्ट पार गर्दै करिब ३ सयको संख्यामा सहभागी आन्दोलनकारी मुहान क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको प्रष्ट पारेको छ । सो क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि चेकपोष्टमा तैनाथ सशस्त्र प्रहरीको टोलीले ८/९ राउन्ड अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक (इन्पेक्टर) मणिराम लामिछानेले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्