जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार १८:४९

सर्लाहीबाट काठमाडौं आउँदै गरेको सुमो भीमफेदीमा दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते


हेंटौडा, भदौ २० । मकवानपुरको भीमफेदीमा आज दिउँसो टाटासुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। हेटौंडा–भीमफेदी–कुलेखानी—काठमाडौं सडकखण्ड अन्तर्गत भीमफेदी ६ जुरिखेतमा आज ना १ ज ३६४० नम्बरको सुमो सडकबाट करिब ५० मिटर तल खसेको हो।

दुर्घनामा परी रामेछापको रजन गाउँका सविता माझीकी १० महिनाकी छोरी साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ बस्ने वर्ष ७० का वीरसिंह वाइबा र सर्लाही बरथवा ३ बस्ने ६० वर्षीय महेन्द्र सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । १० महिने शिशुको हेटौंडा ल्याउँदै गर्दा र अन्य दुई जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटना हुँदा अन्य ८ जना घाइते भएका छन्। घाइतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। घाइते यात्रु सर्लाही र सिन्धुलीका रहेका छन्। दुर्घटना लगत्तै सुमो चालक सर्लाहीका २७ वर्षीय राजकुमार बस्याललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।