जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार ०७:४९

टिमुरे काण्डको छानविन गर्न गृहले बनायो अर्काे समिति


रसुवा, भदौ २१ । रसुवामा गएको मंगलबार प्रहरीले गाडी धनी कुटेको विषयमा छानबिन गर्न गृह मन्त्रालयले नयाँ छानबिन समिति निर्माण गरेको छ ।

जिल्ला स्तरमा छानबिनका लागि निर्माण भएको समितिमा केही संशोधन गरेर गृह मन्त्रालयले शुक्रबार नयाँँ छानबिन समिति निर्माण गरेको हो । महान्यायाधिवक्ताको कार्यालयका उप–न्यायाधिवक्ता चन्द्रकुमार पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति निर्माण गरिएको हो ।

समितिमा योजना, अनुगमन तथा प्रशासकीय अधिकृत डा.थानेश्वर भुषाल, गोसाइँकुण्ड–२ का वडाध्यक्ष दावा दोर्जे तामाङ, व्यवसायी कामी नुर्पु तामाङ र सहायक प्रजिअ सपनाकुमारी भट्टराईलाई सदस्य बनाइएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा मंगलबार दिउँसो प्रहरीले सवारी धनी आशिस तामाङलाई कुटेको भिडियो सार्वजनिक भएको थियो । सवारी धनी कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर श्रेष्ठ र प्रहरी हवल्दार राम बहादुर स्याङतानलाई जिम्मेवारीविहीन बनाएर छानबिन सुरु गरिएको प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताउनुभयो ।

समितिलाई सवारी धनी र मजदुरमाथि भएको दुर्व्यवहारबारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा दिइएको छ ।