जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार १८:४६

नेकपाले निलम्बन गर्यो लिखु तामाकोशी गाउँपालिका अध्यक्ष


रामेछाप, भदौ २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई नेकपाले पार्टीबाट निलम्बन गरेको छ । बिहीबार बसेको प्रदेश कमिटीको बैठकले पार्टी नीतिविपरीत काम गरेको भन्दै नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य खड्कालाई निलम्बन गरेको हो ।

पार्टीको नीति र जनताको भावनाविपरित एकलौटी ढंगले खड्का अगाडि बढेकाले पार्टीको जिल्ला सदस्य लगायत सबै जिम्मेवारीबाट हाललाई निलम्बन गरिएको नेकपाका ३ नं प्रदेश सचिव आनन्द पोखरेलले जानकारी दिनुभयो । ‘खड्कालाई पार्टीले दिएको सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय भएको छ,’ सचिव पोखरेलले भन्नुभयो । लिखु तामाकोशी गाउँ कमिटीमा आबद्ध नेकपाका जिल्ला कमिटीका सदस्यहरुले खड्काले पार्टीलाई बदनाम गरेको भन्दै कारवाहीको माग गरेका थिए ।

गाउँ कमिटीको सिफारिशलाई जिल्ला कमिटीले अनुमोदन गरी कार्वाहीको लागि प्रदेशमा पठाएको थियो । दुई करोड फिरौती माग्ने ब्यक्ति पक्राउ परेपछि खडकाले आफ्नै गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्षसहित पाँच जनाबिरुद्ध ज्यान मार्ने मुद्दामा किटानी जाहेरी दिनुभएको थियो । प्रहरीले सो मुद्दा अदालतमादायर गरिसकेको छ । तात्कालिन एमालेबाट निर्वाचित खडकाले अध्यक्ष भएदेखि नै एकलौटी रुपमा गाउँपालिकामा मनोमानी गरेको भन्दै उपाध्यक्ष दीपशिखा दाहालसहित वडाध्यक्षहरुले खड्काविरुद्ध पटक–पटक पार्टीको ध्यानाकर्षण गराउँदै आउनुभएको थियो ।

पछिल्लो समय लिखु तामाकोशी गाउँपालिकामा विद्युतीकरणमा १२ करोड ४४ लाखमाथि खर्च भएको पालिका अध्यक्ष खड्काले कार्यपालिका बैठकमा पेश गरेका थिए । गाउँपालिकाबाट विद्युतिकरण गर्दा तिर्नु पर्ने बाँकी ६ करोड ९५ लाख रकम थप विनियोजन गर्नु पर्ने माग अध्यक्षले राखेपछि कार्यपालिकाका बहुमत सदस्यले अनुगमन गरेर मात्रै थप भुक्तानी दिने अडान राखेका थिए । विद्युतीकरणको रकम भुक्तानीको खड्काको प्रस्तावमा असहमति जनाएपछि ७ नं वडाअध्यक्ष सुबास बोहोरा र प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राईमाथि कुर्सी प्रहार गरेको घटना सार्वजनिक भएको थियो ।

बैठकमा गाउँपालिकामा कार्यबिधिविपरीत एम्बुलेन्स संचालन गरेको, पालिका भित्रको हरहिसाब आर्थिक पारदर्शिता नभएकाले सबै कारोबारको छानबीनसहित कार्यपालिकामा पेश गर्न लेखा समिति गठन गर्नुपर्ने लगाएतको माग राखेको वडाअध्यक्ष सुबास बोहोराले बताउनु भयो । घटनापश्चात असन्तुष्ट जनप्रतिनिधि जिल्ला सदरमुकाम पुगेर पत्रकार सम्मेलनसमेत गरेका थिए । पालिकामा पार्टी हितविपरीतका काममा लागेर बदनाम गराएको भन्दै वडाअध्यक्षहरुले जिल्लातहका नेताहरुसँग गुनासो गर्दै आएका थिए । यो बिवाद स्वयम्भू गोलीकाण्डपछि उत्कर्षमा पुगेको हो ।

काठमाडौंको स्वयम्भूमा साउन २४ गते प्रहरीले गोली चलाएर गोली चलाएर लोप्साङ भनिने मिलन तामाङ (बाबुराम) लाई पक्राउ गरेपछि बिवाद छताछुल्ल बनेको हो । उनीसँगै अमृत तामाङ पनि प्रहरीले समातेको थियो । लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासँग चन्दा माग्दै पैसा नपाए छोरी अपहरण गर्ने धम्की दिएको भन्ने अध्यक्ष खड्काको जाहेरीपछि प्रहरीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

उक्त गोलीकाण्डपछि अध्यक्ष खड्काले आफूलाई धम्की दिने भनिएका युवकहरुलाई वडाध्यक्ष सुवास बोहरा र गाउँपालिका उपाध्यक्ष दीपशीखा दाहालले परिचालन गरेको भन्दै किटानी जाहेरी दिनुभयो । वडाध्यक्ष बोहराले मन्थली आएर प्रेस विज्ञप्ति जारी गरेर आरोप प्रमाणित गर्न वा पार्टीले कारवाही गर्न चुनौती दिनुभयो । उपाध्यक्षसहित वडाध्यक्षलाई झुट्टा मुद्दामा अध्यक्षले फसाउन खोजेको तर्क बोहोराको थियो । यता फिरौती माग्न योजना बनाएको आरोपमा उपाध्यक्ष दिपशिखा दाहालसहित वडा अध्यक्षको नाममा अदालतमा अध्यक्ष खड्काले किटानी जाहेरी दिनुभयो ।