जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १६:५३

‘कांग्रेसको जागरण अभियान नौटंकी मात्रै’


काठमाडौं, भदौ २२

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिवले जागरण अभियान नौटंकीमात्र भएको बताउनु भएको छ । महासचिव भुपेन्द्रजंग शाहीले आइतवार एक विज्ञप्ती निकालेर पार्टीले देशव्यापी रुपमा शुरु गरेको जागरण अभियानलाई नौटङ्की भन्दै भण्डाफोर गर्नुभएको हो ।

तरुण दल र नेपाल विद्यार्थी संघलाई पूर्णता दिनुको साट्टो नेतृत्व जागरण अभियान भन्दै हिडेकोमा आपत्ति जनाउनु भयो । उहाले जागरणमा जानुभन्दा अगाडि तरुण दल र नेविसंघलाई पूर्णता दिन कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराउनु भएको छ । भातृ संस्थाको केन्द्रीय कार्य समिति विस्तारसम्म गर्ने नसक्ने गैरजिम्मेवार नेतृत्वबाट जागरणको डंका फुक्नुको औचित्य नहुने स्पष्ट पार्नुभएको छ ।

शाहीको विज्ञप्तिमा भनिएको छ, ‘तरुण दललाई ४ जनामा सीमित राख्नु र नेविसंघलाई शून्यमा राख्नु लोकतान्त्रिक पार्टीको लागि लाजमर्दो विषय हो । केन्द्रलाई नै जागरण गर्न नसक्ने पार्टीका नेताहरूले गाउमा गएर जागरण गर्छु भन्नू नौटङ्की मात्र हो ।’