काठमाडौं, भदौ २३
नेत्र विशेषज्ञ प्राडा. सन्दुक रुइतलाई डेंगु भएपछि अस्पताल भर्ना गरिएको छ । उहाको तीनदिन यता थापाथलीको नर्भिक अस्पतालमा उपचार भईरहेको छ । रुइतसँगै रुइत परिवारका तीन जनालाई पनि डेंगुको संक्रमण भएको हो ।
‘डेंगुको अवस्था भयावह भएर आयो,’ उहाले भन्नुभयो, ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रूपमा चलाउन ढिला गरे झन् गाह्रो हुन्छ ।’ सञ्चारमाध्यममा आएका डेंगु संक्रमितको संख्याभन्दा दोब्बर बिरामी हुन सक्ने रुइतको भनाई छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गरेर आइतबारसम्म १० स्वास्थ्यकर्मी डेंगु संक्रमित भई उपचार गराइरहेका छन् । केही उपचारपछि निको भएका छन् ।
स्वास्थ्य सेवा विभाग र टेकु अस्पतालको परिसरमै डेंगु संक्रमित लामखुट्टेको अन्डा र लार्भा भेटिएपछि सातायता नियमित सरसफाइलाई तीव्र बनाइएको छ । खाल्डाखुल्डीमा जमेको पानी हटाउने, झाडी फाँड्ने र रूखका हाँगासमेत काटेर सकेसम्म लामखुट्टे बस्ने वातावरण नाश गरिएको छ । अझै पनि अस्पताल परिसर सफा र व्यवस्थित देखिँदैन । पानी पर्नासाथ खाल्डाखुल्डी भरिन्छन् र लामखुट्टेको बासस्थान बन्छ ।
प्रतिक्रिया दिनुहोस्