जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार ०९:२७

सुरेश वाग्लेले माओवादीका सवै नेतालाई झुक्न बाध्य बनाएको प्रचण्डको खुलासा


काठमाडौं, भदौ २३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सुरेश वाग्लेको नैतिक बलका सामु कोही पनि टिक्न नसकेको खुलासा गर्नुभएको छ । वाग्लेको नैतिक तागत, समर्पणभाव र बैचारिक राजनीतिक कामका सामु कोही टिक्न नसकेको खुलासा प्रचण्डले गर्नुभएको हो ।

‘सुरेश वाग्लेले बिचार राखिसकेपछि हामी नतमस्तक हुन्थ्यौं । उहाँ अगाडि सरिसकेपछि हामी सवै झुक्नु पथ्र्याे । बैचारिकदेखि साँगठानिक, राजनीतिक काममा अघि सरेपछि हामी नतमस्तक हुन्थ्यौं,’ नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित सुरेश वाग्ले स्मृति दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो । तात्कालिन माओवादीका पोलिटब्युरो सदस्य वाग्लेको २०५६ सालमा हत्या भएको थियो ।

वाग्लेको हत्या भएपछि माओवादी आन्दोलनमा लाग्नेको संख्या गुणात्मक रुपले ह्वात्तै बढेको खुलासासमेत अध्यक्ष प्रचण्डले गर्नुभयो । ‘हामीले सकेसम्म कम क्षतीबाट माओवादी आन्दोलन अघि बढोस भन्ने प्रयाश गरेका थियौं, जव कमरेड सुरेश वाग्लेको हत्या भयो, आन्दोलनमा बलिदान दिनेको संख्या ह्वात्तै बढ्यो,’ प्रचण्डले भन्नुभयो । जनयुद्धलाई निमोठेर नै सक्ने प्रतिक्रियावादीको सपनालाई वाग्ले जस्ता नेताहरुकै कारण पूरा नभएको बताउनु भयो ।

‘राज्यसँग लडेर तुरन्तै जित्न सकिदैन भन्नेमा हामी थियौं, त्यो बेला पनि सुरेश वाग्लेले महत्वपुर्ण भुमिका खेल्नुभएको थियो । भोलि सहिद भइयो भने अन्तिम तयारी बैठकको ऐतिहासिकता चिनिनुपर्छ भनेर एउटा एउटा फोटो खिचेका थियौं । शहिद बनियो भने इतिहासमा काम लाग्छ भनेर त्यो गरिएको थियो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।