काठमाडौं, भदौ २३
तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुग्नुभएको छ । काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुग्नुभएको हो ।
चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गर्नुभएको थियो ।
चन्द्रागिरि डाँडामा अत्याधुनिक रिसोर्टको निर्माणसँगै विविध एकीकृत पर्यटकीय संरचनाहरुका साथै भालेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । सोमबार बिहान भ्रमण दलका सदस्यसहित चन्द्रागिरि गएका वाङ चन्द्रागिरिस्थित रिसोर्टबाट करिब १ घण्टाको दूरीमा रहेको मातातीर्थ दोबाटोसम्म पुग्नु भएको थियो । हाइकिङमा विदेशमन्त्री वाङका साथमा भ्रमण दलका सदस्यहरु पनि थिए।
सुरक्षामा खटिएका अधिकार वाङ एकाएक जंगलको बाटो ओरालो लागेपछि केही समय अलमलमा परेका थिए। उनको सुरक्षाका लागि प्रहरीको कार्य विभागबाट खटिएका डीएसपीले कमाण्ड गरेपछि सबै वाङको पछिपछि लागेका थिए। विदेशमन्त्री वाङको हाइकिङका क्रममा सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। चन्द्रागिरि अवलोकन गरेपछि उनी टोलीसहित हाइकिङमा निस्किएका थिए।
चन्द्रागिरि हिल्स नेपाल भ्रमणमा आउने विदेशी उच्चपदस्थ अधिकारीहरुका साथै विदेशी तथा स्वदेशी पर्यटकहरुको एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने गरेको छ । विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आमन्त्रणमा द्विपक्षीय वार्तामा भाग लिन आइतबार साँझ काठमाडौं आइपुग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्