जनता टाइम्स

२८ भाद्र २०८०, बिहीबार १२:१७

एनआरएनए सचिवमा अमेरिकाबाट राम सी पोखरेलको उम्मेदवारी


काठमाडौं, २८ भदौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवमा अमेरिकाबाट राम सी पोखरेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोबरमा हुने संघको एघारौं महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेको पोखरेलले बताउनुभयो । पोखरेल अहिले संघको अमेरिकाज क्षेत्रीय संयोजक रहनुभएको छ । पोखरेल सन २००८ देखि एनआरएनए अभियानमा निरन्तर सक्रिय रहेका अभियन्ता हो ।

सन २०१५–१७ कार्यकालमा उनी एनसीसी अमेरिकाको उपाध्यक्ष भएर काम गर्नुभएको थियो । सन २०१७–१९ कार्यकालमा उहाँ अध्यक्षको प्रत्यासी हुनुहुन्थ्यो । सन २०१९–२१ कार्यकालमा उनी अमेरिका क्षेत्रीय उपसंयोजक भएर काम गर्नुभयो । संघलाई नजिकबाट बुझेका पोखरेल इमान्दार र अनुभवी अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । हालसम्म प्राप्त अनुभव दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने इच्छा पोखरेलको रहेको छ ।

संघलाई थप पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन आफ्नो सचिवमा उम्मेदवारी रहेको उहाँको भनाई छ ।नेपाली समाज टेक्ससको अध्यक्षलगाएत विभिन्न संघ संस्थामा जिम्मेवारी पद लिएर काम गरेको अनुभव पोखरेलसँग रहेको छ । पोखरेल नेपाल बाहिर खुलेका नेपालीहरूको पहिलो लायन्स डल्लास एभरेष्ट लायन्स क्लबका संस्थापक तथा पूर्व अध्यक्ष समेत हो ।

अर्घाखाँची जिल्लामा जन्मिएका पोखरेल २६ वर्षअघि अमेरिका पुग्नुभएको थियो । परिवारसहित टेक्ससमा बस्दै आएका उनी सफल व्यवसायी र समाजसेवी पनि हो । पोखरेलले पेट्रोल पम्प, रियल स्टेट, तथा कानुन व्यवसायमा बर्षौदेखी व्यवसाय गरिरहनुभएको छ । पोखरेलले आफू यस अभियानमा केही दिनको लागी आएकाले आफुलाई समर्थन र सहयोग गर्न विश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई अनुरोध गर्नुभएको छ ।