जनता टाइम्स

२९ भाद्र २०८०, शुक्रबार ०७:४९

एनआरएनए उपाध्यक्षमा रामशरण सिम्खडाले उम्मेदवारी दिने


लण्डन, २९ भदौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा बेलायतका रामशरण सिम्खडाले उम्मेदवारी दिनु हुने भएको छ ।

सो संघको अक्टोवर तेस्रो साता हुने ११ औं महाधिवेशनमा उनले सो पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

नेपालमा रहँदा यूएनडिपी लगायत अन्तराष्ट्रिय दातृ संस्था र बिभिन्न संघसंस्थाहरुको राष्ट्रिय सञ्जालमा काम गरेको अनुभवका आधारमा गैरआवासीय नेपाली संघमा आबद्ध हुन प्रेरणा प्राप्त भएको उहाँले बताउनुभयो । उहाँले संघमा लामो समयदेखि प्राप्त गरेको अनुभव र आफ्नो क्षमताको आधारमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताउनुभयो ।

नेपाली डायस्पोरामा एउटा छुट्टै पहिचान बोकेका सिम्खडा सन् २००१ मा बेलायत बसाई सर्नुभएको हो । गैरआवासीय नेपाली संघको वर्तमान उपमहासचिव समेत रहेका सिमखडाले गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद बेलायतको स्थापना गर्न अग्रणी भूमिकामा खेल्नुभएको थियो ।

सन् २०११ मा गैरआवासीय नेपाली संघ बेलायतको राष्ट्रिय संयोजक (महासचिव) पदको जिम्मेवारी समालेका सिम्खडाले २०१७–२०१९ मा गैरआवासीय नेपाली संघ बेलायतको तर्फबाट आइसीसी सदस्य रहनुभएको थियो । उहाँले गैरआवासीय नेपाली संघभित्र बिमति, असमझदारी, विकृति छन्, यिनै चुनौतिहरुको सामना गर्न र सबैले सोचेजस्तो सुन्दर संस्था निर्माण गरी योगदान दिन आफू उत्सुक रहेको बताउनुभयो ।

संगठनभित्र आन्तरिक बिषयका ज्ञाता मानिने सिम्खडा संगठनलाई विधि अनुरुप सञ्चालन गर्न आन्तरिकरुपमा पनि अभियान चलाउने ब्यक्तिको रुपमा चिनिनुहुन्छ । प्रत्येक बैठकका बिषयबस्तुमा अध्ययन र तर्कसहित प्रस्तुत हुने उहाँ यूके महासचिव हुँदा उहाँको सोच र पहलमा स्थापित पत्रकारिता पुरस्कार लगायत च्यारिटीका काम गरेर चर्चा कमाउनुभएको छ ।

उहाँले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा मास्टर डिग्री हासिल गर्नुभएको छ ।