जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार १९:४३

साथीको हत्या गरेको १८ बर्षपछि यसरी समातिए अभियुक्त


काठमाडौं, भदौ २३ । राजधानीमा १८ बर्षअघि हत्या गरेर फरार रहेका सिन्धुपाल्चोक निवासी भीमसेन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भण्डारीलाई हत्या गरेको १८ बर्षपछि पक्राउ गरेको हो ।

प्रहरीकै आँखा छलेर १८ वर्षसम्म उपत्यकामा आनन्दले बस्दै आएका भण्डारीले २०५८ साउन ७ गते काठमाडौं महानगरपालिका–३४ महादेवस्थानका २० वर्षीय अशोक राईको हत्या गरेका थिए । सिन्धुपाल्चोकको साविकको फुलपिङकोट गाउँपालिका–५ का भीमसेन भण्डारीले रत्नराज्यस्थित महादेवस्थान टोलमा राईमाथि खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।

त्यसबेला भण्डारी २० वर्षका थिए । अहिले उनी ३८ वर्षका भएका छन । मृतक राई साइला श्रेष्ठ भन्ने व्यक्तिले बनाउँदै घरको सामग्री रुघ्नका लागि उक्त घरमा बसेका थिए। प्रहरीका अनुसार घटना भएको दिन साउन ७ गते भण्डारी र राईले सँगै बसी नयाँ बानेश्वरमा रक्सी खाएका थिए। त्यसबेला उनीहरुबीच समान्य विवाद भएको थियो। रक्सीको नसामा भएको विवादले चरम रुप लिएपछि राईले त्यसबेला भण्डारीको गालामा थप्पड हानेका थिए । त्यसपछि राई आफूले रुघ्ने गरेको घर महादेशवस्थान आएर बसे ।

बनाउँदै गरेको घरको अगाडि निमार्ण सामग्री राख्ने एउटा इटा र जस्ताको टहरो थियो । राई त्यही टहरोमा सुतेका थिए। राईको हत्या आरोपमा १८ वर्षपछि पक्राउ परेका भण्डारीले भनेका छन, ‘गालामा थप्पड हानेपछि सहन सकिनँ। आवेगमा आएर उनी सुतेकै ठाउँमा गएर हतियारले हानेर हत्या गरेको हुँ।’ हत्या भएको जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले अभियुक्तको खोजी गरे पनि पक्राउ गर्न सकेको थिएन ।

राईको हत्या गरिसकेपछि भण्डारी काठमाडौंकै महांकालस्थित साथीको कोठामा गएर एक रात बसेका थिए । त्यसपछि उनी काठमाडौं उपत्यकाकै भक्तपुरलगायतका विभिन्न ठाउँमा बस्दै आएका थिए । भण्डारीले राईको हत्या गरेको थाहा भइसकेपछि घरधनी साइला श्रेष्ठले उनीविरुद्ध ज्यान कसुरमा किटानी जाहेरी पनि दिएका थिए तर व्यक्ति पहिचान भइसकेको अवस्थामा पनि उनी पक्राउ पर्न सकेका थिएनन ।

हत्यापछि भण्डारी काठमाडौं उपत्यकाकै विभिन्न ठाउँमा १८ वर्षसम्म सहचालक भएर बसे । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।