ललितपुर, भदौ २३ । प्रतिवन्धित नेत्रबिक्रम चन्द (विप्लव) समुहका दुई हस्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन । बिप्लव समुहका रामेछाप र सिन्धुपाल्चोकका जिल्ला इन्चार्जहरु क्रमशः यादव ढुंगेल ‘जमिन’ र गोपाल श्रेष्ठ ‘प्रयास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको हो ।
आज साँझ खुमलटारमा आयोजित एक कार्यक्रमबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले दुवै नेतालाई पार्टीमा स्वागत गर्नुभयो । सो अवसरमा विप्लव समुहका काभे्र जिल्लाका जिल्ला समिति सदस्य राजकुमार बुढाथोकी पनि नेकपा प्रवेश गर्नुभएकोछ ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेकपा सबै परिवर्तनकारी क्रान्तिकारीहरुको पार्टी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै क्रान्तिकारी परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्छ ।’
नवप्रवेशीहरुले अध्यक्ष प्रचण्डको नेतृत्वबाट नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै समाजवाद निर्माणको अभियानमा उहाँकै नेतृत्वमा आफूहरु समाहित हुन मूलथलोमै फर्किएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्