जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार ०८:२९

रवि लामिछानेलाई हिरासतमै राखेर मुद्दा अघि बढाउन माग गर्दै उच्च अदालतमा पर्यो निवेदन


हेटौडा, भदौ २४ । सञ्चारकर्मी रवि लामिछानेलाइृ हिरासतमै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत हेटौडामा निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर आत्महत्या दुरुत्साहन मुद्दा अघि बढाउन भन्दै निदेदन दर्ता गरेको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछाने, पत्रकार युवराज कंडेल र अस्मिता कार्कीलाई हिरासतमै राखेर अनुन्धान गर्नुपर्ने भन्दै निवेदन दर्ता भएको हो । उच्च अदालत पाटनको हेटौँडा इजलाशमा उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले निवेदन दिएको इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिनुभयो । उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदन उपर आज सुनुवाई हुनेछ ।

चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका लामिछाने र कंडेल साधारण तारिखमा रिहा हुनुपर्ने भन्दै जिल्ला अदालत चितवनको आदेश विरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलाशमा पुगेका थिए । पत्रकार पुडासैनीलाई आत्महत्याको दुरुत्साहन आरोप लागेका लामिछाने पाँच लाख रुपैयाँ र कंडेललाई तीन लाख रुपैयाँ धरौटीमा चितवन जिल्ला अदालतले भदौ ९ गते रिहा गरेको थियो ।

यसअघि लामिछाने र कंडेलको निवेदनमा सुनुवाई गर्दै पाटन उच्च अदालतको हेटौँडा इजलाशले चितवन जिल्ला अदालतबाट सक्कल फाइल मगाउने आदेश जारी गरेको थियो । निवेदनको प्रारम्भिक सुनुवाईको क्रममा मगाईएको प्रतिवेदन आज उच्च अदालत हेटौँडामा पुगेको छ ।