अमेरिका, २ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एबं आगामी अधिवेसनमा अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार (आरके) शर्माले नेतृत्व हत्याउने खेलले गैरआवासीय अभियानको भूमिका ओझेलमा परेको बताउनुभएको छ ।
एनसीसी अमेरिकाको न्यूयोर्क च्याप्टरले गरेको कार्यक्रममा शर्माले चुनावदेखि चुनावसम्ममा अभियान सीमित भएको हुँदा मूल उद्देश्यबाट पछाडि परेको बताउनुभयो ।
आगामी कार्यकाल २०२३ र २५ को कार्यकालको लागि अध्यक्षका प्रत्यासी रहनुभएका शर्माले एनआरएनए अभियानले मूल उद्देश्य प्राप्त गर्न नसकेको जिम्मेवारी आफूले समेत लिने स्वीकार गर्नुभयो ।
“चुनावमा ध्यान दिएको तथा नेतृत्वमा को आउँछ भन्ने विषयले अभियानले उठाउने आर्थिक मुद्दाहरू ओझेलमा परे,” शर्माले न्यूयोर्कमा गैरआवासीय नेपाली अभियन्ताहरूसँगको छलफल कार्यक्रममा भन्नुभयो । उहाँले अब गैरआवासीय अभियानले सामाजिक कार्यलाई निरन्तरता दिएर आर्थिक विकासको लागि काम गर्नुपर्ने बताउनुभयो ।
अध्यक्षको रूपमा शर्माले सामूहिक लगानी, प्राधिकरण मार्फत देश विकासमा रेमिट्यान्सको रकम ल्याउने योजना अगाडि सारेको जानकारी दिनुभयो । विदेशमा बस्ने केही हजार नेपाली धनी र व्यवसायी भए पनि लाखौँ नेपालीहरूको अवस्था सुधार नभएको र देशको विकासको लागि अब रेमिट्यान्स रकमलाई उत्पादनमा लगाउन ढिला भइसकेको शर्माले बताउनुभयो ।
“रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति बढाएको छ, देशको अर्थतन्त्र चलेको पनी छ,” शर्माले थप्नुभयो, “सहज रूपमा आएको रेमिट्यान्सले हाम्रा खेतबारीहरू बाँझो भएका छन्, चामल र तरकारी आयात गरेर खाने बानीलाई हामीले परिवर्तन गर्न जरुरी छ।”
नेपाल छाडेर विदेश आउनुको पीडा सबै देशमा रहेका नेपालीको एउटै भएको र सबैको चाहना सम्बृद्ध नेपाल बनाउने नै रहेको हुँदा आफ्नो उम्मेदवारी त्यसैको लागि रहेको जानकारी शर्माले गराउनुभयो ।
शर्माले गैरआवासीय नेपाली संघको निर्वाचन महंगो भएको र यसको नेतृत्वमा आम श्रमिक तथा विभिन्न पेशा व्यवसायमा संलग्न हुने व्यक्तिहरू आउने गरी काम गर्न लागेको बताउनुभयो ।
एनआरएन अभियानमा पछिल्लो समय राजनीतिक दलको हस्तक्षेप स्वीकार्य नभएको तर, मुद्दा कार्यान्वयनको लागि नेपालका सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि जानुपर्ने पक्षमा आफु रहेको जनाउनुभयो ।
“हाम्रा एजेन्डा कार्यान्वयनको लागि नेपाल सरकारसँग सहकार्य गर्नुपर्छ,” शर्माले भन्नुभयो, “गोर्खाजको इस्युदेखि, दोस्रो पुस्ताका नेपालीको मुद्दाहरू कार्यान्वयनमा लग्न र मध्यपूर्वमा बस्ने नेपालीलाई सामाजिक सुरक्षा कोषमा सरकारसँग सहकार्य गरेर जोडेको हो ।” गैरआवासीय नेपाली अभियान पवित्र उद्देश्यको लागि खोलिएको भन्दै शर्माले यसमा राजनीति गर्न नहुनेमा आफू जहिले पनि अडिक रहेको बताउनुभयो ।
मध्यपूर्व बाहेक बाहिर बस्ने नेपालीको नागरिकतादेखि लिएर अरु एजेण्डामा आफू जहिले पनि लागेको शर्माले स्मरण गराउनुभयो । “हामी बंशजको नागरिकता निरन्तरताको पक्षमा नै हो, यो हासिल नभएपछि निरन्तर लाग्ने नै छौ,” शर्माले थप्नुभयो, “गैरआवासीय नागरिकता आउनु पनि हाम्रो उपलब्धी नै हो,यसले कम्तीमा नेपालमा हाम्रो सम्पत्ति सुरक्षित भएको छ।”
गैरआवासीय नेपाली अभियान २० वर्ष पूरा भए पनि मध्यपूर्व नेतृत्वको विषयमा भने जहिले अमिलो मन आफूले लिएको अनुभव शर्माले व्यक्त गर्नुभयो ।
“मध्यपूर्वमा बस्ने नेपालीले अन्य क्षेत्रमा बस्ने नेपालीका मुद्दा जहिले उठायौं,” शर्माले भन्नुभयो, “एनआरएनएको नेतृत्वमा मध्यपूर्वलाई सधैँ ओझेलमा पार्ने काम नगरौँ, हामीहरू नेतृत्व लिन सक्षम छौँ।” उक्त कार्यक्रममा युएसएमा रहेका एनआरएनए अभियन्ता र बौद्दिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उहाँहरुले यसपटकको नेतृत्व आरके शर्मा र मध्यपुर्वले पाउनुपर्ने जनाउदै शर्मालाई शुभकामना ब्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्