जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार १०:३०

विधिवत इन्द्रजात्रा शुरु : इन्द्रध्वजासहितको लिंगो ठड्याइ


काठमाडौं, भदौ २४

हनुमानढोका दरबार परिसरमा कालभैरवको विशाल मूर्तिअगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइपछि विधिवत रुपमा इन्द्रजात्रा शुरु भएको छ । करिब ३२ हातको लिंगोमा इन्द्रध्वजा राखी सांस्कृतिक बाजागाजा, बैन्डबाजा र पञ्चैबाजा बजाएर मंगलबार बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा लिंगो ठड्याइएको हो ।

नेपालभाषामा ‘योसीं’ भनिने उक्त लिंगोमा विभिन्न प्रकारका मंगल सूचक चिह्नहरू अंकित पताकाहरू झुन्ड्याइएको थियो । लिंगोको फेदीमा हात्ती चढेको इन्द्रको सानो प्रतिमा राखी पूजाअर्चना गरिएको थियो । लिंगो ठड्याएपछि सैनिकहरूले बन्दुक पड्काएर बढाइँ गरेका थिए । त्यसपछि गुरुजुको पल्टन, पञ्चैबाजा, बैन्डबाजा, मानन्धरहरूका क्वँचाः खीं बाजा मा मालश्रीको धुन बजाउँदै लिंगो परिक्रमा गरेका थिए ।