जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार १३:४२

नेकपा प्रदेश–२ का अध्यक्ष र सचिव बने गुटको शिकार : शपथग्रहण कार्यक्रममै भयो आक्रमण


राजविराज, भदौ २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश–२ अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन । सप्तरी र सिरहाको जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहणका लागि महोत्तरीको बर्दिबासमा आज आयोजित कार्यक्रममै अध्यक्ष साह र सचिव प्याकुरेलमाथि हातपात भएको हो ।

जिल्लामा कार्यकर्ताको विरोधले सपथ ग्रहण हुन नसक्ने अवस्था आएपछि बर्दिबास–१ को कभर्ड हलमा कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला कमिटी गठनमा असन्तुष्ट रहेको पक्षले सपथ ग्रहण कार्यक्रममै गएर हातपात गरेको हो । सपथ ग्रहण रोक्न आग्रह गर्दा अध्यक्ष साह र सचिव प्याकुरेलले बेवास्ता गर्दै कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएपछि हातपात भएको कार्यक्रममा उपस्थित नेकपाका कार्यकर्ता निरन्जन झाले बताउनुभयो ।

दुवै नेतालाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ भने प्रहरीको लाठीचार्जका क्रममा प्रदेश सदस्य देवनाथ यादव घाइते हुनुभएको छ । असन्तुष्ट कार्यकर्ताले कार्यक्रम स्थलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरेका छन । प्रदेश सचिव प्याकुरेलले भने हातपात र झडप नभई सामान्य विरोध भएको बताउनुभयो । ‘पार्टी ठूलो भएको छ । विभिन्न स्वभावका कार्यकर्ता छन । असन्तुष्टि जनाएका हुन, अरु केही होइन,’ प्याकुरेलले भन्नुभयो ।

असन्तुष्ट पक्षले सप्तरी र सिरहामा जिल्ला कमिटी गठन गर्दा काखापाखा गरेको र पार्टीमा योगदान गरेका इमान्दार कार्यकर्तालाई छुटाइएको आरोप लगाएको छ । योग्यता नै नपुगेका व्यक्तिलाई जिल्ला कमिटीमा ल्याइएको र पार्टीका लागि योगदान दिएकालाई पाखा लगाएको भन्दै नेता कार्यकर्ताबीच विवाद छ । जिल्ला कमिटी गठनप्रति तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवैतर्फका नेता÷कार्यकर्ता असन्तुष्ट रहेका छन । तत्कालीन माओवादी केन्द्रका असन्तुष्ट केही नेता÷कार्यकर्ताले राजविराजमा पत्रकार सम्मेलन गरेरै असन्तुष्टि व्यक्ति गरेका थिए ।

कुल १ सय ६५ सदस्यीय कमिटीमा तत्कालीन नेकपा एमालेका तर्फबाट सचिवसहित ८४ र माओवादी केन्द्रका तर्फबाट अध्यक्षसहित ८१ सदस्य छन । प्रदेश कमिटी सदस्यद्वय देवनाथ यादव र भागवत यादवले जिल्ला कमिटी गठन गर्दा सप्तरीका सिनियर नेता तथा जनयुद्धको क्रममा जेल, नेल र यातना भोगेकाहरुलाई पाखा लगाइएको आरोप लगाउनुभयो । भूमिगतकालदेखि पार्टीमा सक्रिय रहेका देवराम यादव, गोपाल गुप्ता, पवन यादव, उमेश मण्डल, ज्ञानेन्द्र घिमिरे, बलवहादुर महतो, सहिद पत्नी कविता ठाकुर, दानालाल चौधरी लगायतका महत्वपूर्ण नेताहरू कमिटीमा नल्याई पार्टीको सदस्य नै नभएका र नीति र सिद्धान्त नै नबुझेका माला कर्ण, राहुल मण्डलसहित एक दर्जनभन्दा बढीलाई कमिटीमा ल्याइएको उहाँहरूको आरोप छ ।

‘पार्टीको गुटगत स्वार्थबाट प्रेरित भएर पुराना नेताको राजनीतिक करिअर हत्या गर्ने प्रयास भएको छ,’ यादवले भन्नुभयो, ‘हामी उनीहरूलाई न्याय दिलाउन र पार्टीको वर्चश्व कायम राख्न प्रयास गरिरहेका छौं। हाम्रो माग सुनुवाइ नभए आन्तरिक संघर्ष गर्न पनि तयार छौं।’ असन्तुष्ट पक्षले जिल्ला कमिटी पुनर्गठनका केन्द्रीय कमिटीमा समेत निवेदन दर्ता गराएका छन ।