जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार १४:५८

रवि लामिछानेबिरुद्धको निवेदनमाथि सुनुवाई सकियो, पर्सि दुवै निवेदनमाथि सुनुवाई


हेटौंडा, भदौ २४ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले हिरासतमा राखेर अनुसन्धान गर्न माग गर्दै दिएको निवेदनमाथिको सुनुवाई सकिएको छ । उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश टेकराज नेपालको एकल इजलासले लामिछानेले दिएको जिल्ला अदालतको निर्णय खारेजीको निवेदन र उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले दिएको निवेदन एकै दिन पेश गर्न आदेश दिएको हो ।

उच्च अदालत हेटौडाका प्रवक्ता अमृत घिमिरेका अनुसार दुवै निवेदनमाथि सुनुवाई गर्न बिहीवारको मिति तोकिएको छ । उच्च सरकारी वकिलको कार्यालयले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछाने, पत्रकार युवराज कंडेल र अस्मिता कार्कीलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै सोमवार निवेदन दर्ता गरेको थियो । निवेदनमा मंगलबार सुनुवाई गर्दै हेटौँडा इजलासले यसअघिको आदेश अनुसार जिल्ला अदालत चितवनको फाइल आइसकेकाले बिहीबारको पेशीमा दुवै फाइल पेश गर्न आदेश दिएको हो । बिहीबारको इजलासमा लामिछानेले दिएको निवेदन र सरकारी वकिलको कार्यालयले दिएको निवेदनमा सुनुवाई हुनेछ ।

जिल्ला अदालत चितवनको आदेशमा धरौटीमा छुटेका लामिछाने र कंडेल आफूहरु साधारण तारिखमा रिहा हुनुपर्ने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलाशमा पुग्नुभएको थियो । पत्रकार पुडासैनीलाई आत्महत्याको दुरुत्साहन आरोप लागेका लामिछाने पाँच लाख रुपैयाँ र कंडेललाई तीन लाख रुपैयाँ धरौटीमा चितवन जिल्ला अदालतले भदौ ९ गते रिहा गरेको थियो ।

यसअघि लामिछाने र कंडेलको निवेदनमा सुनुवाई गर्दै पाटन उच्च अदालतको हेटौँडा इजलाशले चितवन जिल्ला अदालतबाट सक्कल फाइल मगाउने आदेश जारी गरेको थियो । निवेदनको प्रारम्भिक सुनुवाईको क्रममा मगाईएको प्रतिवेदन सोमवार उच्च अदालत हेटौँडामा पुगेको छ । अब बिहीबार यी दुवै निवेदनमा सुनुवाई हुने हेटौँडा इजलासका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । जिल्ला अदालतले अस्मिता कार्कीलाई भने साधरण तारेखमा छाडने निर्णय गरेको थियो ।