जनता टाइम्स

६ आश्विन २०८०, शनिबार १५:४०

महिलाको छातीमा अटोग्राफ दिएपछि डोनाल्ड ट्रम्प बिबादमा


न्युयोर्क, ६ असोज । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दिनहुँ कुनै न कुनै कारणले विवादमा घेरिदै जानुभएको छ । उहाँले फेरि हालै विवाद निम्त्याउने एक काम गरेका छन्, जसको मानिसहरूले खुबै आलोचना गरेका छन् । वास्तवमा ट्रम्प अमेरिकाको आयोवामा आफ्नो चुनावी प्रचार गरिरहनुभएको थियो, त्यही क्रममा अचानक उहाँ एउटा रेस्टुरेन्टमा पुग्नुभएको थियो ।

रेस्टुरेन्टमा एक महिला वेट्रेसले ट्रम्पलाई अटोग्राफ दिन आग्रह गर्नुभयो, ट्रम्पले पनि त्यसै गर्नुभयो र अटोग्राफ दिनुभयो तर उहाँले महिलाको छातीमा अटोग्राफ दिनुभएको थियो । यद्यपि महिला स्वयंले उहाँलाई त्यसो गर्न भन्नुभएको थियो । अहिले ट्रम्पको यो व्यवहारको आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालमा यसको चर्को प्रतिक्रिया आएको छ । ट्रम्पले महिलाको छातीमा अटोग्राफ दिएको यो पहिलो पटक भने होइन, यसअघि पनि २०१५ मा चुनावी प्रचारका क्रममा उहाँले महिलाको छातीमा अटोग्राफ दिनुभएको थियो । डोनाल्ड ट्रम्प अमेरिकाको आगामी चुनावको लागि निरन्तर प्रचारप्रसार गरिरहनुभएको छ र देशको कुना–कुनामा पुगेर चुनावी प्रचार गरिरहनुभएको छ ।

अमेरिकाको क्विनिपियाक युनिभर्सिटीले गरेको सर्वेक्षण अनुसार ४६ प्रतिशत अमेरिकीहरु ट्रम्पलाई राष्ट्रपति बनेको हेर्न चाहन्छन् । यससँगै सर्वेक्षणको एउटा प्रश्नमा देशलाई राष्ट्रिय संकटबाट निकाल्न कसले राम्रो काम गर्छ ? भनेर सोधिएको थियो, जसमा ५१ प्रतिशत मतदाताले ट्रम्पलाई समर्थन गरेका थिए जबकि ४४ प्रतिशतले बाइडेनलाई समर्थन गरेका छन् ।