काठमाडौं, भदौ २४
नेपालले विश्वकप २०२२ छनोटमा चाइनिज ताइपेइविरुद्ध शानदार जित निकालेको छ । आफ्भन्दा ४१ स्थानमाथी रहेको टोलीलाई उसैको घरेलु मैदानमा नेपालले २–० ले पराजित गरेको हो ।
नेपालको जितको हिरो भने अन्जन विष्ट रहे । नेपालले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । अन्जनले झन्डै २५ यार्ड टाढाबाट सुजलले प्रहार गरेको फ्रिकिकमा गोल गरेका थिए । घरेलु मैदानमा पछाडी परेको ताइपेइले लगातार आक्रमण बुनेपनी नेपाली डिफेन्सले राम्रो प्रदर्शन गरे । प्रशिक्षक कालिनले कुवेतविरुद्ध खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए । गोलकर्ता अन्जनसँगै डिफेन्समा रजिन धिमाल र दिनेश राजवंशी टोलीमा फर्केका थिए ।
पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा अग्रता दोब्बर पार्यो । काउन्टर अट्याकमा रवी पासवानको क्रसलाई सुजल श्रेष्ठले हेड गर्दै अन्जनतर्फ दिए । अन्जनले अनमार्क रहेको अवस्थामा पेनाल्टी क्षेत्रबाहिर उत्कृष्ट बल नियन्त्रणमा लिए र दोस्रो टचमा सानदार हाफ भलीमा गोल गरे । ताइपेइले गोल फर्काउन नसकेपछि नेपालले जित दर्ता गरेको हो ।
यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारबाट माथि उक्लिँदै तेस्रो स्थानमा आइपुगेको छ । समान ३–३ अंक जोडेको जोर्डन र कुवेत गोल अन्तरमा अगाडी छन् ।
कुवेतविरुद्ध कुवेत सिटीमा ७–० ले लज्जास्पद रुपमा हारेको पाँच दिनभित्रै नेपालले ताइपेइलाई पराजित गरेको हो । विश्वकप छनोटमा नेपालको यो नै पहिलो ‘अवे’ जित हो । नेपालले अब १० अक्टोबरमा क्यानबेरामा अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्