जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार २१:१०

इन्द्रजात्रा पर्वका लागि सरकारद्वारा ५ करोडको संरक्षण कोष स्थापना


काठमाडौं, भदौ २४

सरकारले काठमाडौंमा मनाइने ऐतिहासिक इन्द्रजात्रा व्यवस्थापनका लागि ५ करोडको संरक्षणकोष स्थापना गरेको छ । कला संकृतिको संरक्षण र व्यवस्थापन र प्रवद्र्धनका लागि सो कोष स्थापना गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

संघीय सरकारबाट एक करोड ५० लाख, प्रदेश सरकारबाट एक करोड, काठमाडौं महानगरपालिकाबाट दुई करोड र गुठी संस्थानबाट ५० लाख गरी ५ करोडको कोष स्थापना गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता घनश्याम उध्यायायले जानकारी दिनुभयो ।

सो कोषमा जम्मा भएको ५ करोडको व्याजबाट बर्सेनि इन्द्रजात्रा पर्व व्यवस्थापन गर्ने सकिने विज्ञप्तिमा उल्लेख छ । उपत्यकामा लामो समयदेखि परम्परागतमा रूपमा संचालनमा रहेको रहेको पर्वमध्ये इन्द्रजात्रा लगायत उक्त अवसरमा संचालन हुने जात्रापर्वको व्यवस्थापनका लागि २२ भदौ २०७५ मा मन्त्रिपरिषद्ले इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष स्थापना गर्ने निर्णय गरेको थियो ।

काठमाडौं महानगरका प्रमुखको अध्यक्षतामा रहने सिमितले सो कोष संचालन हुने छ । यसका साथै जात्राको व्यवस्थापन समेत सोही कोषले गर्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल उपत्यकामा इन्द्रजात्राको मचहलपहल चलिरहेको छ । इन्द्रजात्राको पहिलोदिन मंगलबार वसन्तपुरमा इन्द्रजात्राको लिंगोउठाउने काम भएको थियो ।