गाँजा, २० असोज । मध्यपूर्वमा इजरायल र प्यालेस्टाइन बीचको स्थिति फेरि बिग्रिएको छ । हमास आतंककारीहरूले आज बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन। सर्वप्रथम इजरायलमा हजारौं रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै इजरायल प्रवेश गरेका छन् । केही आतंककारी प्याराग्लाइडर प्रयोग गरेर सीमामा प्रवेश गरेका थिए । केही आतंककारीहरू सडकबाट इजरायलमा प्रवेश गरे र उनीहरूले देखेका सबैलाई गोली हानेका छन् ।
अचानक भएको यो ठूलो हमला पछि इजरायलमा रेड अलर्ट जारी गरिएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालै आपतकालीन बैठक बोलाएर देशमा युद्धको घोषणा गरेका छन् । अहिलेसम्म हताहतीको खबर आएको छैन । भीडन्त अहिले पनि जारी छ । मिडिया रिपोर्टका अनुसार प्यालेस्टाइनको आतंकवादी संगठन हमासले इजरायलमा ५ हजारभन्दा बढी रकेट प्रहार गरेको जनाईएको छ, यसको बिस्तृत बिवरण आउन बाँकी छ ।
प्यालेस्टिनी आतंककारीहरूले गाजा पट्टी हुँदै इजरायलमा आक्रमण गरे र यसको सीमामा प्रवेश गरेका छन् । सीएनएनका अनुसार रकेट आक्रमणको लगत्तै प्रधानमन्त्री नेतन्याहुको कार्यालयले प्रधानमन्त्री र रक्षामन्त्रीले तेल अवीवमा उच्चस्तरीय बैठक गरिरहेको बताएको छ । देशका सबै नागरिकलाई सचेत गराइएको छ । सबैलाई घरभित्रै बस्न भनिएको छ । हमास लडाकुहरूले इजरायली घरहरू कब्जा गरेका छन् । यसैबीच इजरायली प्रधानमन्त्री नेतन्याहुले हामी युद्धमा रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,‘यसका लागि हमासले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’
हमासको आक्रमणपछि सञ्चारमाध्यममा देखा परेका इजरायलका रक्षामन्त्रीले भिडियो सार्वजनिक गर्नुभएको छ । उहाँले भन्नुभयो,‘हामासका आतंककारीहरूले आज बिहानै गम्भीर गल्ती गरेका छन् र इजरायलविरुद्ध युद्ध सुरु गरेका छन् । इजरायली सुरक्षा निकायका सिपाहीहरू जताततै दुश्मनसँग लडिरहेका छन् । म इजरायलका सबै नागरिकहरूलाई सुरक्षा निर्देशनहरू पालना गर्न आह्वान गर्दछु। इजरायलले यो युद्ध जित्नेछ ।’
इजरायलमा हमासले गरेको आक्रमणपछि इजरायलको सेना एक्शन मोडमा छ । इजरायली सेनाले आफ्नो आधिकारिक एक्स खातामा हमासको आक्रमणको जवाफमा गाजा पट्टीमा रहेको आफ्नो स्थानमा आक्रमण गर्न थालेको बताएको छ । हमासका प्रवक्ता मोहम्मद डेफले इजरायलमा भएको आक्रमणको जिम्मेवारी लिँदै विश्वको जुनसुकै कुनामा रहेका प्यालेस्टाइनी नागरिकले इजरायलविरुद्ध उभिनु पर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो,‘यरुशलेमको अल अक्सा मस्जिदमा उनीहरुले गरेको आक्रमणको जवाफमा हामीले यो हमला गरेका हौँ ।’ हमासका प्रवक्ता मोहम्मद दीफले लेबनान, सिरिया, इराक र इरानलाई इस्लामको नाममा एकजुट हुन अपिल गर्नुभएको छ । उहाँले आफ्नो एउटा ट्वीटमा भन्नुभएको छ,‘हामी इजरायलविरुद्ध अल अक्सा स्टर्म अपरेशन सुरु भएको घोषणा गर्छौं, आज अल अक्साको क्रोध, हाम्रो देशको क्रोध र इस्लाममा विश्वास गर्नेहरूको क्रोध उम्लिरहेको छ ।’
उहाँले अगाडी भन्नुभएको छ,‘हातमा बन्दुक लिएर जो कोही घरबाट बाहिर निस्कनुपर्छ । आज इतिहासले यसको सबैभन्दा शानदार र ऐतिहासिक पृष्ठहरू खोलेको छ। म सबै इस्लामका अनुयायीहरूलाई हामीलाई मद्दत गर्न अपील गर्दछु, र सिरिया, लेबनान, इराक र इरानका सबै मानिसहरूलाई झण्डा र सीमानामा एकताबद्ध हुन अपील गर्दछु ।’













प्रतिक्रिया दिनुहोस्