जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार १३:०९

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेका वकिलले गराए उच्च अदालतमा आजको सुनुवाई स्थगित


हेटौँडा, भदौ २६ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतको आदेशविरुद्ध सञ्चारकर्मी रवि लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । रवि लामिछाने र पत्रकार युवराज कंडेलको तर्फका कानुन व्यवसायीको निवेदनका आधारमा उच्च अदालत पाटनको‚ हेटौँडा इजलाशमा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको हो ।

आज बिहान ११ बजे न्यायाधीश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशमा यो मुद्दाको सुनवाइ हुने तय भएको थियो । तर लामिछाने र कंडेलका तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीले निवेदन दिएर सुनुवाइ स्थगित भएको उच्च अदालत पाटनको‚ हेटौँडा इजलाशले जनाएको छ । अर्को पेशी आगामी बिहीबारका लागि तोकिएको छ ।

चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका सञ्चारकर्मी लामिछाने र पत्रकार कंडेल आफूहरु साधारण तारिखमा रिहा हुनुपर्ने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत पाटनको‚ हेटौँडा इजलाशमा पुग्नुभएको थियो । त्यस्तै‚ धरौटीमा रिहा भएका लामिछाने र कंडेल तथा साधारण तारेखमा रिहा भएकी रुकु भनिने अस्मिता कार्कीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले अर्को निवेदन दिएको थियो । उच्च अदालत पाटनको हेटौँडा इजलासले चितवन जिल्ला अदालतको आदेशविरुद्ध परेका निवेदनको अब अर्को पेसीमा सुनुवाइ हुनेछ ।

उच्च सरकारी वकिलको कार्यालयले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछाने, पत्रकार युवराज कंडेल र अस्मिता कार्कीलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै सोमवार निवेदन दर्ता गरेको थियो । निवेदनमा मंगलबार सुनुवाइ गर्दै हेटौँडा इजलासले यसअघिको आदेशअनुसार जिल्ला अदालत चितवनको फाइल आइसकेकाले बिहीबारको पेशीमा दुवै फाइल पेश गर्न आदेश दिएको थियो ।

पत्रकार पुडासैनीलाई आत्महत्याको दुरुत्साहन आरोप लागेका लामिछाने पाँच लाख रुपैयाँ र कंडेललाई तीन लाख रुपैयाँ धरौटीमा चितवन जिल्ला अदालतले भदौ ९ गते रिहा गरेको थियो । यसअघि लामिछाने र कंडेलको निवेदनमा सुनुवाइ गर्दै पाटन उच्च अदालतको हेटौँडा इजलाशले चितवन जिल्ला अदालतबाट सक्कल फाइल मगाउने आदेश जारी गरेको थियो ।