जनता टाइम्स

२२ आश्विन २०८०, सोमबार १४:२६

के इजरायलविरुद्ध इस्लामिक देशहरू एकजुट छन् ?


जेरुसेलम, २२ असोज । हमासको इजरायलमाथिको आक्रमण र त्यसपछि इजरायलको प्रतिकारात्मक कारबाहीमा पश्चिमी देशहरू एकै स्वरमा बोलिरहेका देखिन्छन्।

तर सामान्यतया प्यालेस्टाइनको लागि आफ्नो समर्थन व्यक्त गर्ने मुस्लिम देशहरूले सावधानीपूर्वक प्रतिक्रिया दिएका छन्। इजरायल(हमास द्वन्द्वमा यी देशहरूको अडान विभाजित देखिन्छ।

यी देशहरूले स्वतन्त्र प्यालेस्टाइन राज्यको वकालत गरेका छन्, तर पहिले जस्तै तिनीहरूले इजरायलको कडा आलोचना गर्नबाट जोगिइरहेका छन्। इरान बाहेक अधिकांश इस्लामिक देशले हमासलाई खुलेर समर्थन गर्नबाट जोगिएका छन् ।

इजरायल र मुस्लिम देशबीचको सम्बन्ध सुधार्ने प्रयास भइरहेका बेला हमासको आक्रमण भएको हो । २०२० मा, इजरायल र दुई अरब देश बहराइन र संयुक्त अरब इमिरेट्सले दुई पक्षबीच औपचारिक सम्बन्ध स्थापना गर्न अब्राहम सम्झौतामा हस्ताक्षर गरे। धेरै मुस्लिम देशहरू यसको समर्थक छन्।

इस्लामिक देशहरुको सबैभन्दा ठूलो र महत्वपूर्ण संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन वा ओआईसीले इजरायलको कडा आलोचना गर्नुको साटो सतर्क प्रतिक्रिया दिएको छ ।