कैलाली, भदौ २७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न सुझाव दिनुभएको छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले सो सझाव दिनुभएको हो ।
उहाँले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह कमिटीको टुङ्गो लागेको जानकारी दिनुभयो । ‘सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ अब भ्रातृ सङ्गठन एकीकरणको काम पनि छिट्टै टुङ्गो लगाइने छ,’ रावलले भन्नुभयो । उहाँले जिल्ला, नगरपालिका तथा गाउँपालिकामा कमिटी निर्माण भइसकेकोले विकास निर्माणका काममा सघाउन र पार्टीका राम्रा गतिविधिलाई जनस्तरसम्म लैजान आग्रह गर्नुभयो ।
दुई दिनसम्म बसेको प्रदेश पदाधिकारीहरुको बैठकले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहको पूर्ण कमिटीसँगै अधिकांश वडा कमिटी पनि टुङ्गो लगाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैठकमा प्रदेश इञ्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सहइन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी सहभागी रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्