जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार ०८:५२

पाँच वर्ष नै टिक्ने ओली सरकार थप नयाँ गतिका साथ अघि बढने अध्यक्ष प्रचण्डको घोषणा


इलाम, भदौ २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकार स्थिर रुपमा पाँच वर्ष टिक्ने बताउनु भएको छ । उहाले अब सरकारले देखिने गरी विकास गर्ने र पाँचवर्षभित्र विकास लहर देखिने बताउनु भयो ।

इलाममा आज विहान पत्रकारसँग कुरा गर्दै उहाले सरकारलाई कमजोर बनाउन कुनै पनि हालतमा नदिने उद्घोष समेत गर्नुभयो । ‘सरकारको कुरा गर्दा पार्टी र नेतृत्वबीचको सहमति हुने कुरा हो । पार्टी एकताको सन्दर्भमा केही सहमति भएका हुन तर आजको अवस्था हेर्दा सरकारलाई कहिं कतै कमजोर बनाउन दिन खोजेका छैनौं’, उहाले अगाडी भन्नुभयो, ‘पार्टी एकता राम्रोसँग हुनुपर्यो र सरकार प्रभाकारी भयो भने पाँच वर्ष नै यो सरकार जाँदा समस्या हुन्न भनेर मैले धेरैपटक भनेको छु ।’

अध्यक्ष प्रचण्डले चुनाव लगत्तै ५ वर्षे कार्यकालका लागि आफुलाई अफर आएको जानकारी दिदै कम्युनिष्ट एकताका लागि आफूले त्यो त्याग गरेको पनि बताउनु भयो । ‘पूर्वाधार विकासमा गाउँदेखि संघीय सरकारले योजना बनाएर जाने प्रक्रिया शुरु भएको छ । सरकारको अवधिभित्र धेरै राम्रो परिणाम आउँछ भन्ने विश्वास छ’, उहाले भन्नुभयो, ‘जनताको अपेक्षा अनुरुप हुन नसकेको सत्य हो । पार्टीले जसरी जनताले स्पष्ट पार्न अभियानको रुपमा जानुपर्ने, पार्टीले सरकारलाई निर्देशित गर्ने अवस्था नभएको, आन्तरिक कुरामा धेरै जेलिएकोले जे कमी भएको छ, त्यसमा सुधार गर्ने र जनतामा जाने साथै विकासलाई गति दिने दिशामा हामी केन्द्रीत छौं । अब यो सरकारले नयाँ गति लिएर जान्छ ।’

इन्डो प्यासिफिकको बारेमा उहाको भनाई जस्ताको त्यस्तै

हाम्रो विदेश नीति प्रष्ट छ । असंलग्न र स्वतन्त्र विदेश नीतिको मान्यताबाट नेपाल विचलित छैन । हामी कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । हामी असंलग्न रहन्छौं । पहिलो बुझ्नु जरुरी छ । यसै सन्दर्भममा चाहे त्यो विमस्ष्टेक सन्दर्भको हो, चाहे त्यो इण्डो प्यासिफिकको सैन्य अभ्यासमा किन नहोस हाम्रो राष्ट्रपतिलाई असर गर्ने कुनै पनि गठबन्धनमा हामी सहभागी हुँदैनौं । मैले प्रधानमन्त्रीजी र परराष्ट्र मन्त्रीले भनेको त्यही हो ।

हाम्रो चीनका बारेमा एक चीन नीति छ । हामी चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न दिन्नौं र दिँदैनौं भन्ने पनि हाम्रो प्रष्ट नीति हो । यही कुरा मैले गरेको हो । इण्डो प्यासिफिकका सन्दर्भममा पनि चीनका विरुद्ध हुने कुनै गतिविधि सह्य छैन भनिएको हो । प्रचार जसरी आयो, चीनबाट आधिकारिक परराष्ट्र मन्त्रालयबाट स्टेटमेन्टका रुपमा आएको होइन । कुनै समाचार एजेन्सीको समाचार बनाउने क्रममा आएको हो ।

त्यसमा सरकार, परराष्ट्रका रुपमा वक्तव्य आएको होइन । अर्को कुरा अमेरिकाको राजदूत या स्टेट डिपार्टमेन्टले मागेको पनि होइन । त्यहाँ काम गर्ने एकजना कर्मचारीले बाहिर भनेको मात्रै हो । आधिकारिकरुपमा न चीनले न अमेरिकाले भनेको स्थिति हो । मैले नेपाल राष्ट्रको घोषित नीति अनुरुप भनेको हो । कतिपयले हरेकपटक यस्तै हुन्छ भनेर भन्न खोजेको पाइयो । क्युबा, भेनेजुएला आदिका सन्दर्भममा अमेरिकाप्रति नकारात्मक धारणा बनाउन खोजेको भन्ने प्रचार पनि सत्य होइन ।

भेनेजुएलाका बारेमा मैले भनिसकेको छु र परराष्ट्रले पनि भेनेजुएलाको बारेमा त्यहीका जनताले निर्णय गर्ने हो, बाहिरबाट कुनै हस्तक्षेप हुनुहुँदैन भन्ने कुरा पराष्ट्रले भनिसकेको हो ।जहाँसम्म क्यूबाको कुरा हो, क्यूबाको पक्षमा त पुरै संसार छ । संयुक्त राष्ट्रसंघबाट नाकाबन्दीविरुद्ध प्रस्ताव पारित छ । नाकाबन्दीविरुद्ध छ । क्यूबालाई सहयोग र ऐक्यबद्धता जनाउन उनीहरुको टोली नेपाल आएको थियो । चेको छोरी नै आउनु भएको थियो । त्यो कार्यक्रममा मैले सुरक्षा परिषदको निर्णय कार्यान्वयन हुनुपर्यो, हामी त्यो मामिलामा क्युबाको पक्षमा छौं भनेको हो । तर अमेरिकालाई उत्तेजित पार्ने हाम्रो कुनै आवश्यकता छैन । अमेरिकासँग पनि कुटनीतिक सम्बन्ध छ । कैयन पक्षमा हाम्रो द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने काम भएको छ । म अमेरिका भ्रमणका बेला समेत यसविषयमा अमेरिकी अधिकारीसँग कुरा गरेको छ । विदेश नीतिका बारेमा मैले नेपालको परराष्ट्र नीति नै बोलेको छु । यसमा स्प्ष्ट हुनुपर्छ ।