जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार ०९:४३

नेपाल ओलम्पिक कमिटीको चुनावी प्रक्रिया शुरु


ललितपुर, भदौ २८

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि चुनावी साधारण सभा सुरु भएको छ । ललितपुरको ओलम्पिक भवनमा सुरु भएको साधारण सभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नु भएको छ।

मन्त्री विश्वकर्माले निर्वाचनसँगै राष्ट्रिय मान्यता प्राप्त र अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीको विवाद समाधान भएको बताउनुभयो । अब नेपाली खेलकुदको विकासमा ओलम्पिक ‘मुभमेन्ट’ थप सार्थक हुने मन्त्री विश्वकर्माको भनाइ थियो । उहाले सबैले मिलेर नयाँ नेतृत्व चयन हुनेमा आफू आशावादी भएको पनि उल्लेख गर्नुभयो ।

साधारणसभाको उद्घाटन सत्रपछि आजै निर्वाचन प्रक्रिया सुरु हुने छ । १९ सदस्यीय कार्यसमितिमा १७ जना निर्वाचित गर्ने ओलम्पिकको विधानमा छ । २ जना भने पछि मनोनित हुनेछन् । तर उप–महासचिवमा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेना र कोषाध्यक्षमा रतनकुमार तण्डन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठको प्यानल प्रतिस्पर्धामा छ । जीवनरामको प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ र उमेशलालको प्यानलमा पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा हुनुहुन्छ ।

चुनावमा पाँच जना उपाध्यक्षका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा ज्योति राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारी छन् ।

त्यस्तै, तीन सचिव पदका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन् । सात सदस्यका लागि रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी र मनोरञ्जनरमण शर्मा प्रतिस्पर्धामा छन् ।