जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार १०:५७

विदेशीलाई दिने नागरिकता खुकुलो बनाउन कांग्रेसको फरक मत


काठमाडौं, भदौ २८

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी बुहारीलाई दिने नागरिकता खुकुलो बनाउनुपर्ने माग अघि सारेको छ । विदेशी बुहारीलाई आउने वित्तिकै नागरिकता दिनुपर्ने भन्दै वैवाहिक अंगीकृत नागरिकता प्राप्तीसम्बन्धी नयाँ व्यवस्थामा फरक मत राखेको छ ।

कांग्रेसको मतमा प्रतिपक्षी राजपा र सत्तारूढ समाजवादीले पनि अलग्गै फरक मत दर्ता गराएर उक्त प्रावधानको विरोध गरेका हुन । संघीय संसद अन्तरगत राज्य व्यवस्था तथा सुशासन समितिको शनिबारको बैठकमा कांग्रेस, राजपा र समाजावादी पार्टीका सांसदहरुले लिखितरुपमा फरक मत राखेका हुन्। समितिका सदस्य तथा कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले नेपाल नागरिकता ऐन २०६३ अनुसारकै व्यवस्था वैवाहिक अंगीकृत नागरिकताका हकमा कायम हुनुपर्ने भन्दै फरक मत दर्ता गराएका हुन्।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक ‘नेपाल नागरिकता ऐन २०७५’ मा मूल ऐनको दफा ५ अंगीकृत नागरिकता प्राप्तीको व्यवस्थामा कडाइ गर्न लागिएपछि कांग्रेस विरोधमा उत्रिएको हो। विधेयकको यो दफामा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी महिलालाई विवाह गरेको सात वर्षपछि नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गर्न लागिएको छ। यही व्यवस्था नेपाल नागरिकता ऐन २०६३ अनुसार यथावत हुनुपर्ने अडान कांग्रेसले राखेको हो। ‘यस संशोधनबाट नागरिकता प्राप्तिको क्षेत्रमा थप संवैधानिक एवम् सामाजिक जटिलता समेत सृजना हुन सक्ने सम्भावना रहेकाले उपरोक्त विषयमा देशभित्र कृयाशील दलहरुबीच सर्वदलीय सहमति समेतका आधारमा बनेको नेपाल नागरिकता ऐन २०६३ को विद्यमान व्यवस्था अनुरुप नै हुनुपर्ने नेपाली कांग्रेसको संस्थागत मत राख्दछौँ’, कांग्रेसका ६ जना सांसदले हस्ताक्ष्र गरेको फरक मतपत्रमा भनिएको छ।