जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार १५:०९

नेकपा सुदूरपश्चिमले लगायो गुटगत भेला–बैठक र सामाजिक सञ्जालमा आलोचना गर्न प्रतिबन्ध


कैलाली, भदौ २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीका गुटगत भेला र बैठक गर्न प्रतिबन्ध लगाएको छ । इञ्चार्ज भीम रावलको प्रमुख आतिथ्यतामा धनगढीमा दुई दिनसम्म चलेको प्रदेश कमिटीको बैठकले कमिटीको निर्णय र सहमतिभन्दा बाहिर गएर छुट्टै कुनै समूहगत भेला तथा बैठक गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अध्यक्ष कर्ण थापाका अनुसार पार्टीको विधिसम्म निर्णयबाहेक समूहगत भेला र बैठक गरे कारबाही गर्ने निर्णय बैठकले गरेको छ । साविक पार्टीका नाममा गरिने भेला र बैठकलाई पनि प्रतिबन्ध लगाइएको अध्यक्ष थापाले बताउनुभयो । पूर्वमाओवादी र पूर्वएमालेका कतिपय समूहका गोप्य भेलाहरु हुने गरेको र यसले पार्टीमा विवाद निम्त्याएको निश्कर्षसहित बैठकले प्रतिवन्ध लगाएको हो ।

पार्टीका नेता, कार्यकर्ता र सदस्यलाई एकअर्का विरुद्ध सामाजिक सञ्जाल र सार्वजनिक रुपमा टीकाटीप्पणी गर्नसमेत प्रदेश कमिटीले रोक लगाएको छ । एकअर्का विरुद्ध अमर्यादित, अस्वस्थ, तथ्यहिन टीकाटीप्पणी नर्गन पनि बैठकले पार्टीका नेता, कार्यकर्ता र सदस्यलाई निर्देशन दिएको छ । ‘अव पूर्वसमुह वा गुटगत भेला वा बैठक गर्न नपाइने निर्णय गरिएको छ, निर्णय उलंघन गरेर कसैले भेला वा बैठक गरेको पाइएमा कार्वाही हुनेछ,’ बैठकको निर्णय प्रष्ट पार्दै अध्यक्ष थापाले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार सामाजिक सञ्जालमार्फत गालीगलौज भएको अवस्थामा समेत कार्वाही हुनेछ ।

केही महिनाअघि पार्टीको प्रशिक्षणका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई बोलाउने विषयमा प्रदेश समितिमै विवाद उत्पन्न भएको थियो । एउटा पक्षले सल्लाह नै नगरी अध्यक्षलाई बोलाउन खोजेको भन्दै पूर्वएमालेभित्रै विवाद उत्पन्न भएपछि प्रशिक्षण रोकिएको थियो ।

नेकपा सुदूरपश्चिममा पूर्वएमालेमै दुई धार रहेको छ । पार्टी एकतापछि पनि पूर्वएमालेको दुई धारको तित्तता हट्न नसकेको बेला प्रदेश कमिटीले थप तिक्तिता हुन नदिन गुटगत तथा विधिसम्मत निर्णयबाहेकका भेला र बैठकमा रोक लगाएको हो ।