जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार १६:२७

राजा फर्किन्छ भन्नेहरू मुर्ख हुन : देउवा


दाङ, भदौ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुर्खहरुले मात्रै मुलुकमा फेरि राजा फर्किने सपना देदेको प्रष्ट पार्नुभएको छ ।

दाङको तुलसीपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सो भनाई राख्नुभएको हो । ‘मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख हुन, यो संभव छैन,’ देउवाको भनाई थियो । उहाँले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मुर्खता सिवाय अरू केही नभएको पनि प्रष्ट पार्नुभयो ।

‘हाम्रो पार्टीमा यो विषयमा छलफल नै भएको छैन । त्यसैले फेरि राजा फर्किने कुरै छैन । कांग्रेसले राजा फर्काउन लागेको छ भन्ने कुरा वाहियात हो,’ देउवाले भन्नुभयो । नेपाली कांग्रेसको जनजागरण अभियानको सफलता देखेर आत्तिएका कम्युनिस्टहरूले बाँकेमा काँग्रेसको कार्यक्रममा आक्रमण गरेर आफ्नो चरित्र प्रदर्शन गरेको आरोप पनि उहाँले लगाउनुभयो ।

‘अधिकानायवादी सोच भएका कम्युनिष्टहरू जागरण कार्यक्रममा जनताको आकर्षण देखेर आत्तिएका छन, आफूहरूको भ्रष्टाचारको पोल खुल्ने डरले आत्तिएकै कारण आक्रमण गरेका छन,’ देउवाले भन्नुभयो, ‘दोषीलाई कारबाही नहुँदासम्म कांग्रेस चुप लागेर बस्दैन ।’