जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार १८:००

तरुण दलका महासचिव शाही बर्खास्त


काठमाडौं, भदौ २८ । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई संगठनको साधरण सदस्यसमेत नरहने गरी पदबाट बर्खास्त गरेका छन । शाहीले अनुशासनविपरित काम गरेको भन्दै अध्यक्ष बस्नेतले आज साधरण सदस्यसमेत नरहने गरी कारवाही गरेको विज्ञप्तिमार्फत जानकारी दिएका हुन ।

‘तपाईले आफ्नो पदीय मर्यादा जिम्मेवारी र नेपाली कांग्रेस पार्टी र नेपाल तरुण दलको आदर्श एवं सिद्धान्त विपरित गई अनुशासनहिन कार्यहरु गर्नु भएको हुँदा नेपाल तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको व्यहोरा यसै पत्रमार्फत जानकारी गराइन्छ,’ अध्यक्ष बस्नेतद्वारा आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महासचिव शाहीले अध्यक्षसँगको सल्लाह विना निलम्वनमा परेका तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठको निलम्वन फुकुवा गरेका थिए भने सप्तरीमा आफु निकटका सिताप्रसाद यादवलाई अध्यक्ष मनोनयन गरेका थिए । सोही बिवादमा अध्यक्ष बस्नेतले महासचिव शाहीलाई संगठनबाट हटाएका हुन । अध्यक्ष बस्नेत कांग्रेस सभापति देउवा निकट हुन भने शाही बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन । बस्नेतले कार्वाही गरेको पत्रको बोधार्थ केन्द्रीय सभापतिलाई दिएका छन ।