जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १६:२६

प्रश्नको जवाफ नदिएपछि आफैले बोलाएका युटुवरबाटै भयो ज्ञानेन्द्र शाहीको रामधुलाई


काठमाडौं, भदौ २९ । गणतन्त्रबिरुद्धको अभियान छडेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा युटुवरको प्रश्नको जवाफ दिन नसकेपछि रामधुलाई भेटेका छन । ललितपुरस्थित आफ्नै कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा युटुवरको प्रश्नको जवाफको साटो ‘अन्तसन्ट प्रश्न गर्ने को होस’ भन्दै जंगिएपछि उनैले बोलाएका युटुवर उनीमाथि जाइलागे ।

पत्रकार सम्मेलनमा एक युटुवरको प्रश्न थियो, ‘ज्ञानबहादुर शाही कसरी ज्ञानेन्द्र शाही भए ? यो प्रश्नको जवाफ शाहीले दिएनन । उल्टै प्रतिप्रश्न गरे, ‘पुष्पकमल दाहाल कसरी प्रचण्ड भए ?’ त्यसपछि तपाईका आर्थिक हैसियत के ? यो प्रश्नपछि उनी अन्टसन्ट प्रश्न गर्ने भन्दै जंगिए । पत्रकार भन्दा युटुवरकै सहभागिता रहेको सम्मेलनमा उनीहरुले आफूलाई थाम्न सकेनन । एकाएक आक्रोशित बने, जवाफ नै नदिने भए किन बोलाको भन्दै आक्रोशित मुद्रामा रहेका युटुवर शाहीमाथि खनिए । प्रहरीलाई भित्र छिर्न नदिएका शाही तिनै युटुवरको शिकार बनेर रामधुलाई भेटेपछि पाइन्ट तान्दै भागेर प्रहरीको शरणमा पुगेर ज्यान बचाए ।

नेपालगञ्ज विमानस्थलमा मन्त्रीमाथी अभद्र व्यवहार गरेको आरोप लागेका शाहीले ललितपुरमा पत्रकार सम्मेलनन गरेका थिए । कार्यक्रममा पत्रकार भन्दा पनि युटुवरहरुको मात्र भेला थियो । त्यसमा केही आफुलाई विद्यार्थी बताउने युवाहरु पनि सहभागी थिए । उनले कार्यक्रममा नेपालगञ्जमा भएको घटनाका बारेमा जानकारी गराउदै गर्दा युवाहरुले प्रश्न सोध्न थालेका थिए ।

यसैक्रममा एक युवतिले शाहीलाई कार्यक्रमको स्रोतका विषयमा बताउन आग्रह गरिन् । उनले भनिन, ‘तपाई जुम्लाको साधारण परिवारमा जन्मेको मान्छे, यत्ति धेरै कार्यक्रममा सहभागी हुनुहुन्छ, हरेक कार्यक्रममा जाँदा तपाई विमान चढेर जानुहुन्छ, त्यसको आयस्रोत के हो ?’ तिखो प्रश्न आफुतिर आएपछि शाहीले बोल्न सकेनन् ।

तर, सँगै रहेका साझा पार्टीका नेता सुरेन्द्र भण्डारीले प्रश्नको जवाफ दिनुको साट्टो ती प्रश्नकर्तालाई नै प्रश्न तेस्र्याए । ‘तपाई को हो ? र कुन संचार माध्यमबाट आउनु भएको हो ?’ उनले जवाफ दिइन, ‘म विद्यार्थी हुँ ।’ उनले अझै पनि प्रश्नको जवाफ दिन सकेनन । अनि कुर्तक गर्दै भने, ‘यहा त पत्रकारलाई मात्र बोलाएको हो, विद्यार्थीलाई होइन ।’ त्यसपछि कार्यक्रममा निक्कै हल्लाखल्ला हुन्छ । फेरी अर्का एक व्यक्तिले ज्ञानेन्द्र शाहीलाई नाम सोधेर केही आरोप आएका छन् के भन्नुहुन्छ भन्दै प्रश्न गरे । उनले सोधे, ‘तपाईको नाम के हो ?’ शाहीले भन्छन, ‘मेरो नाम ज्ञानबहादुर शाही हो ।’

प्रश्नकर्ताले फेरि भने, ‘तपाई एसएलसी पनि फेल हुनु भएको भनेर भनिएको छ, त्यसपछि भारत गएर सिएमए पढ्नु भएको र त्यहापनि फेल भएपछि नक्कली सर्टि्फिकेट लिएर आउनु भएको भन्छन्, के भन्नुहुन्छ ?’ यति प्रश्न सोधेपछि शाही पुन अक्कमक्क पर्दछन् । उनले शिक्षाका विषयमा सोधिएको प्रश्नको जवाफ दिन सक्दैनन् । प्रश्नको जवाफ यसरी दिन्छन, ‘तपाईहरु सिआईबीमा उजुरी दिन सक्नुहुन्छ ।’ उनको प्रश्न आउने वित्तिकै अर्का प्रश्नकर्ताले भन्छन, ‘तपाई पनि त भ्रष्टचार भयो भनेर कराउदै हिड्नुहुन्छ्, प्रमाण छ भने अहिलेसम्म अदालत किन जानु भएन ?’ यो प्रश्नको उत्तर पनि शाहीले दिन सक्दैनन ।

फेरि अर्का प्रश्नकर्ताले भन्छन, ‘तपाईले किन नाम फेर्नुभएको हो ?’ शाहीले यसमा पनि उत्तर दिन सक्दैन र प्रश्नकर्तालाई नै प्रश्न सोध्छन, ‘पुष्पकमल दाहालले किन ‘प्रचण्ड’ भन्दछन् त ?’ यो प्रश्न शाहीले गरेपछि प्रश्नकर्ताले फेरी दोहोर्याएर प्रश्न गरे, ‘प्रचण्डको प्रवक्ता हो र मलाई सोध्न ? कि म प्रचण्डको छोरा हो र ? मलाई प्रश्न सोध्न ।’ यत्ति भनेपछि शाही जंगिन्छन । त्यसक्रममा निक्कै होहल्ला त्यहा शुरु भईसकेको हुन्छ ।

भाइरल बनाएर डलर कमाउन पुगेका युटुवर एकाएक आक्रोशित हुन्छन । अनि जवाफ नै नदिने भए किन बोलाको भन्दै आक्रोशित मुद्रामा रहेका युटुवर शाहीमाथि खनिए । प्रहरीलाई भित्र छिर्न नदिएका शाही तिनै युटुवरको शिकार बनेर रामधुलाई भेटेपछि पाइन्ट तान्दै भागेर प्रहरीको शरणमा पुगेर ज्यान बचाउन बाध्य हुन्छन ।