जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार १८:१८

ओली–प्रचण्डका हस्तीलाई पार्टीबाट निकाल्न भन्दै नेपाल पक्षधर १६ केन्द्रीय सदस्यले बुझाए ज्ञापनपत्र


काठमाडौं, भदौ ३१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश २ मा संस्थापन र बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एक–अर्कालाई समाप्त पार्ने अभियान सुरु भएको छ । प्रदेशको इञ्चार्ज र अध्यक्षबिरुद्ध नेपाल पक्षधर १६ जना केन्द्रीय सदस्यले कार्वाहीको माग गर्दै सचिवालयमा पत्र बुझाएपछि प्रदेश २ को बिवाद सतहमा आएको हो ।

बरिष्ठ नेता नेपाल पक्षधर केन्द्रीय सदस्यहरुले विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साहमाथि कार्वाहीको माग गर्दै सचिवालयमा पत्र बुझाएका हुन । विधि र अनुशासनअनुसार पार्टीलाई अगाडि बढाउन माग गर्दै प्रदेश नम्बर २ का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायत १६ जनाले आज नेकपा केन्द्रीय सचिवालयमा ज्ञापनपत्र बुझाउनुभएको हो ।

नेकपा केन्द्रीय समितिको परिपत्रलाई उल्लंघन गर्दै सपथ ग्रहण राखेर असहज परिस्थिति सिर्जना गरिएको भन्दै ज्ञापनपत्रमा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारबाही गर्न माग गरिएको छ । ज्ञापनपत्रमा केन्द्रीय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगत प्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठालगायत हुनुहुन्छ । उहाँहरु सवै नेपाल पक्षधर नेता हुनुहुन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरीत कार्य गरेको आरोप ललाइएको छ । प्रदेश नम्बर दुईको प्रदेश कमिटीमा मनोनयन गरिएका नेताहरुको नाम हटाएर अन्य वरिष्ठ र सक्षम नेताहरु समावेश गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा गरिएको छ । त्यस्तै नेकपाको अन्तरिम विधानको धारा ३६ (ख) तथा विशेष परिपत्र ४ (क) विपरीत प्रदेश नं २ का सबै जिल्ला कमिटीहरुमा मनोनयन गरिएका तथा योग्यता नपुगेकाहरुको मनोनयन रद्द गरी वरिष्ठ र योग्यता पुगेकाहरुलाई मनोनयन गरेर सपथ ग्रहण गराउनु पर्ने माग रहेको छ ।

यसअघि शपथ ग्रहणमा भएको झडपलाई लिएर केही नेताहरुले बरिष्ठ नेता नेपालमाथि नै कार्वाहीको माग गरेका थिए ।