जनता टाइम्स

१ आश्विन २०७६, बुधबार ०८:११

अरुण नदीमा खस्यो बिरामी बोकेको जिप, ६ जना बेपत्ता


संखुवासभा, असोज १ । संखुवासभा सदरमुकाम खाँदबारीबाट विरामी बोकेर धरानतर्फ जाँदै गरेको जिप अक्करको भीरबाट खसेको छ । उक्त जिप मंगलबार राति १० बजे आसपास अक्करको भीरबाट अरुण नदीमा खसेको हो ।

खाँदबारीबाट दुई जना बिरामी धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप अक्करको भीरबाट अरुण नदीमा खसेको हो । उक्त घटनामा परी ६ जना बेपत्ता भएका छन् । जिप भिरबाट खसेपछि चालक सन्तोष विकसहित ६ जना बेपत्ता भएका हुन । जिपमा खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको बच्चा समिर श्रेष्ठ, उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएका छन् ।

रातको समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुनसकेको छैन । अरुण खोलामा बाढी आएका कारण उनीहरुको खोजीमा समेत समस्या भएको छ । गाडी खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको छ । प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ ।