जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १०:१२

कानुनमन्त्रीको ३ मिनेटको सम्वोधनले यसरी खुल्यो संसदको अवरोध


काठमाडौं, असोज २

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुई दिनदेखी अवरुद्ध बनाएको संसद कानुनमन्त्री भानुभक्त ढकालको तीन मिनेटको सम्वोधनले खुलेको छ । बाँके जिल्ला सभापति किरण कोइराला सहित कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कानूनी कार्बाहीको माग गर्दै आएको थियो ।

जागरण अभियानका क्रममा आफ्ना नेता–कार्यकर्तामाथि नेकपाका वडाध्यक्षको नेतृत्वमा आक्रमण भएको आरोप लगाउदै कडा कार्बाहीको माग गर्दै अवरुद्ध गरिरहेको थियो । बुधबार पनि कांग्रेसले बैठकको शुरुमै संसद अवरोध गर्दै आ–आफ्नो सिटबाट उठेर विरोध गरे । त्यसपछि सभामुखले दिलेन्द्रप्रसाद बडुलाई बोल्न समय दिनुभयो । सांसद बडुले बाँके घटनाका दोषीलाई कानूनी कार्बाहीको माग दोहोर्‍याउनु भयो ।

बडुले बोलिसक्नासाथ कांग्रेस सांसदहरु फेरि उभिएर विरोध गरे । सभामुख महराले भन्नुभयो, “कानूनमन्त्रीले यसबारे बोल्न चाहनुभएको छ, बस्नुहोस् माननीय सदस्यहरु ।” यति भनेपछि कांग्रेस सांसदहरु आ–आफ्नो सिटमा बसेपछि कानूनमन्त्री ढकालले तीन मिनेट मात्रै बोलेर संसद खुलाउनु भयो ।

मन्त्री ढकालले दोषीमाथि कार्बाही गर्न सरकार प्रतिबद्ध भएको जानकारी दिनुभयो । ‘घटना दर्ता भइसकेको छ । कानूनी विधि र प्रक्रियाअनुसार घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउँछौं । गल्ती नगरेको कोही फस्दैनन्, गल्ती गरेका कोही उम्कदैनन्’, उहाको प्रतिवद्धता थियो । छोटो सम्बोधनपछि मन्त्री ढकाल आफ्नो ठाउँमा फर्किएपछि लगातारको अवरुद्ध संसद सञ्चालनमा आयो ।