डब्लिन, १७ पुस । आयरल्याण्डमा भेला भएका नेपाली वैज्ञानिक, प्रविधि विज्ञ तथा इन्जिनियरहरुले नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास गर्न नीतिगत तथा प्रक्रियागत सुधारहरु गर्न सुझाव दिएका छन् । डब्लिनमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै बेलायत, नेपाल लगायत संसारका आठओटा मुलुकहरुमा काम गरिरहेको सूचना प्रविधि (आइटी) सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशन, का प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले गत केही वर्ष एता नेपाल सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास भै रहेको बताउनुभयो ।
उहाँले आफ्नो कम्पनीले नेपाल, बंगलादेश लगायत आठवटा मुलुकहरुमा काम गरिरहेको बताउँदै आफ्नो कम्पनीले नेपालमा क्लाउड कम्प्युटिंगको बारेमा जनचेतना जगाउन तथा व्यवसायीहरुले त्यसबाट कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा काम गरिरहेको बताउनुभयो । सन् २०१९ देखि ‘एडब्लुएस एमव्यासडर’ तथा एडब्लुएस उपभोक्ता समूह नेपालको अगुवाको रुपमा आफुले डिसेम्बर २०२२ मा नेपालमै पहिलो पटक ‘एडब्लुएस कम्युनिटी डे’ आयोजना गरेको उहाँले स्मरण गर्नुभयो ।
यस्ता कार्यक्रमहरुबाट नेपालमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुले एक अर्काबाट सिक्ने, सहकार्य गर्ने र विश्वव्यापी क्लाउड समुदायसंग जोडिने मौका पाएको उहाँले बताउनुभयो । ‘यी प्ल्याटफर्महरुले नेपाली सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुलाई साझेदारीको खोजी गर्न, आफ्नो दक्षता विकास गर्न सघाउने व्यक्तिको पहिचान गर्न र एक अर्कालाई सघाउने संजाल निर्माण गर्न मदत गरिरहेका छन् ।
‘त्यस्तै एडब्लुएस एकेडेमीजस्ता प्रयासबाट नेपालको सूचना प्रविधिबारे पढाउने क्षेत्रमा र कम्पनीहरुमा रहेको ‘सीपको ग्याप’ कम गर्न पनि मदत पुगेको छ,’ फुयाँलले भन्नुभयो । एडब्लुएस एकेडेमी संगको सहकार्यमा नेपालका शिक्षण संस्थाहरुले क्लाउड, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मशिन लर्निङ्ग जस्ता विषयहरु पढाउन थालेको र नेपालमै विश्व स्तरको स्नातकहरु उत्पादन हुन थालेको उहाँले बताउनुभयो ।
‘तर समस्या के भयो भने ती स्नातकहरुका लागि नेपालमा रोजगारी सीमित छ र उनिहरुको लागि हामीले कि त विश्व बजारमा काम खोज्नु पर्छ कि नेपालमै बसेर आइसीटी सम्बन्धी सम्बन्धी सेवा निर्यात गर्नु पर्छ,’ उहाँले भन्नुभयो ।काठमाडौँस्थित एक अनुसन्धान संस्था, आइआइडीएस, द्वारा हालै गरिएको एक अध्ययनले नेपालको सूचना प्रविधि क्षेत्रले देशको कूल गार्हस्थ्य उत्पादनमा १.४ प्रतिशत तथा कूल वैदेशिक मुद्रा संचितिमा ५.५ प्रतिशत योगदान गरेको देखाएको छ ।
सन् २०२० मा नेपालको सूचना प्रविधि क्षेत्रले ३० करोड डलर भन्दा बढी आम्दानी गरेकोमा दुइ वर्षमै त्यस्तो आम्दानी बढेर ५१ करोड डलर नाघेको उक्त अध्ययनले अनुमान गरेको छ । अन्तरक्रियामा बोल्दै एनआरएनए आयरल्याण्डका अध्यक्ष प्रकाश सापकोटाले यस्ता कार्यक्रमले संसारभरि फैलिएका नेपालीहरुसंग रहेको सीप, अनुभव र पूँजी नेपालको विकासमा परिचालित गर्न सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष नवराज कोइरालाले जहाँ बसे पनि नेपाली हरु आपसमा संगठित भई एक आपसमा सहयोग गर्ने गरेको बताउनुभयो । उक्त अन्तरक्रियामा सहभागी पेशागत विज्ञ, वैज्ञानिक तथा कम्प्युटर इन्जिनियरहरुले सूचना प्रविधिको विकासका लागि वैदेशिक लगानी आकर्षण गर्न र प्रविधि हस्तान्तरणका लागि सजिलो नीति निया बनाउन आग्रह गरेका थिए ।
उनीहरुले नेपाल सस्तो श्रमिक्निर्यात गर्ने मुलुक मात्रै नभएर अत्याधुनिक प्रविधिसंग परिचिहित दक्ष युवाहरु रहेको मुलुक हो भन्ने समाचार प्रवाहित गर्न र ‘डिजिटल नोमाड’ हरुलाई आकर्षित गर्न थप कार्यक्रम ल्याउन पनि नेपाल सरकारलाई आग्रह गरेका थिए । जेनेस सलुशनले नेपालमा सूचना प्रविधिको विकासका सम्भावना र चुनौतीहरुबारे संसारका विभिन्न शहरहरुमा यस्ता अन्तरक्रियाहरु आयोजना गर्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्