जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १६:००

इन्द्रजात्रामा राष्ट्रपतिबिरुद्ध खनिदै हुलदंगा मच्चाउन खोज्ने १० जनालाई प्रहरीले लगायो अभद्र व्यवहार मुद्दा


काठमाडौं, असोज २ । इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झन्डा देखाउँदै हुलदंगा मच्चाउन खोजेको अभियोगमा पक्राउ परेकामध्ये १० जनालाई प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाउने भएको छ । इन्द्रजात्रामा पक्राउ परेका ६९ जनामध्ये १० जनालाई सो अभियोगमा मुद्दा दायर गर्ने प्रहरीले बताएको हो । पक्राउ परेकामध्ये ५१ जनालाई भने प्रहरीले अनुसन्धानपछि रिहा गरेको छ ।

अनुसन्धानको क्रममा १० जना ब्यक्तिसुनियोजित रुपमा हुलदंगा मच्चाउने र राष्ट्रपतिबिरुद्ध बिषबमनको योजना बनाउने ब्यक्ति रहेको पाइएपछि मुद्दा लगाउन लागिएको प्रहरीको भनाई छ । यसरी मुद्दा लगाउन लागिएकाहरुमा अनिल बस्नेत, नारायण अर्याल, हरिनायारणप्रसाद शाह, राजेश तामाङ, रघुराज राजभण्डारी, माधव गुरागाईं, कृष्ण खड्का, पारुहाङ उजुमी राई, कविरसिंह बस्नेत र रविन्द्र कार्की रहेका छन । उनीहरुलाई सोही दिनपक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।

१० जनामध्ये ४ जनालाई सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको छ । रिटको सुनुवाई गर्दै सर्वोच्चले पक्राउ परेकालाई ३ दिनभित्र अदालतमा हाजिर गराउन प्रहरीलाई आदेश दिएको छ । अन्य ६ जनालाई पनि आज बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराइएको छ । इन्द्रजात्राको अवसरमा कुमारी रथयात्राको दिन कुमारी दर्शन गर्न जानुभएकी राष्ट्रपति भण्डारीलाई गत मंगलबार उनीहरुले कालो झन्डा देखाएका थिए ।

सरकारले गुठी विधेयक ल्याएर धर्म संस्कृति मास्न लागेकाले इन्द्रजात्रामा कुनै पनि सरकारी पदाधिकारीले प्रवेश नदिने भन्दै उनीहरुले प्रदर्शन गरेका थिए । गुठीको नाम दिइए पनि उनीहरुले राष्ट्रपति नभई पूर्वराजा आउनु पर्ने भन्दै हुलदंगा मच्चाउने योजना बनाएका थिए । गणतन्त्रको धरोहर राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आक्षेप लगाएर पूर्वराजाको नाममा हुलदंगा मच्चाउन लागेकै बेला प्रहरीले पक्राउ गरेको थियो ।