जनता टाइम्स

३ आश्विन २०७६, शुक्रबार ०८:१८

उपलब्धी उल्टाउन खोज्ने अराजक तत्वको प्रतिवाद गर्न नेकपा अध्यक्ष प्रचण्डको आग्रह


काठमाडौं, असोज ३

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने अराजक तत्व सक्रिय रहेको बताउनु भएको छ । उहाले त्यस्ता तत्वका विरुद्ध प्रतिकार गर्न पनि आग्रह गर्नुभएको छ ।

चौथो संविधान दिवसका अवसरमा शुभकामना जारी गर्दै अध्यक्ष प्रचण्डले जतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरु सक्रिय रहेको भन्दै त्यसको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन आग्रह गर्नुभएको हो । उहाले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्षर्ग गर्ने नेपाली आमाबुबाका सर्वोत्तम छोराछोरी महान् सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

यसक्रममा बेपत्ता भएका योद्धा र घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गर्नुभएको छ । उहाले संविधानका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, जनजाति, मधेसलगायत विभिन्न आन्दोलनमा सहभागी जनसमुदायमा कृतज्ञता व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको भन्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको जनाउनु भएको छ ।