जनता टाइम्स

३ आश्विन २०७६, शुक्रबार १०:११

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नु आजको प्रमुख कार्यभार : मुख्यमन्त्री गुरुङ


पोखरा, असोज ३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको रक्षा, प्रयोग र विकास गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।

संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले संविधानले सङ्घीयता, धर्मनिरक्षेता, समावेशीता, समानुपातिक प्रतिनिधित्वलगायत सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको बताउनु भएको हो ।

सन्देशमा नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त महत्वपूर्ण उपलब्धिको रुपमा पहिलोपटक जनताका प्रतिनिधिमार्फत संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले संविधान जारी भएको दिन राजनीतिक एवं संवैधानिक इतिहासमा युगिन महत्वको दिन बनेको बताउनु भयो ।

मुख्यमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नु आजको आवश्यकता, प्रमुख कार्यभार र साझा दायित्व भएको भन्दै संविधान दिवसले यसतर्फ लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।