जनता टाइम्स

८ माघ २०८०, सोमबार १२:४३

सरकारी निर्णयबिरुद्ध आन्दोलनमा उत्रियो एमाले धनकुटा


काठमाडौं, माघ ८ । धनकुटामा रहेका केही सरकारी कार्यालय अन्य जिल्लामा सार्न लागिएको भन्दै नेकपा एमाले धनकुटाले विरोध जनाएको छ ।

एमाले धनकुटाले पत्रकार सम्मेलन गरेर धनकुटा र तेह्रथुम जिल्ला हेर्ने तथ्यांक कार्यालय र पाख्रिबासमा रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम इलाममा सार्न लागिएको भन्दै विरोध जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले कार्यालय सार्ने निर्णयको विरोधमा सबै धनकुटेली जनता एक हुनुपर्ने बताउनुभयो । सरकारविरुद्ध वैधानिक लडाइँ लड्ने भन्दै उहाँले सरकारको निर्णय बदर गरेरै छाडने उदघोष पनि गर्नुभयो ।

एमाले धनकुटाका जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले धनकुटालाई वर्तमान सरकारले अपमान गरेको बताउनुभयो । चुप लागेर बस्ने हो भने धनकुटा समाप्त हुने भन्दै उहाँले धनकुटेली जनताहरु यस निर्णयको विरुद्धमा जुरमुराएर उठ्नुपर्ने बताउनुभयो । सरकारले धनकुटामाथि गम्भीर अन्याय गर्न लागिरहेको भन्दै अध्यक्ष पराजुलीले चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

जिल्लामा आएका महत्वपूर्ण योजनाको बजेट समेत कटौती गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ । धनकुटामा निर्माणाधीन एक सय शय्याको अस्पतालको जग्गा प्राप्तिका लागि संघ सरकारले निर्णय नगरेको, केपी ओली नेतृत्वको सरकारले थालेको एक स्थानीय तह एक अस्पतालको बजेट कटौती गरिएको भन्दै एमालेले आपत्तिसमेत जनाएको छ ।

कार्यालय सार्न लागेको विरोधमा एमाले धनकुटाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार माघ १५ गते सबै राजनीतिक दल र जनप्रतिनिधिको भेला आयोजना गर्ने, माघ १६ गते विरोध र्याली निकाल्ने एमालेले जनाएको छ । सरकारले सो निर्णय तत्काल नसच्याए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि एमालेले दिएको छ ।