काठमाडौं, माघ ९ । हनी ट्रयापको कसुरमा ओखलढुङ्गाकी एक महिला दोषी ठहर भएकी छिन् ।
काठमाडौं जिल्ला अदालतले ओखलढुङ्गा स्थायी ठेगाना भएकी देवी थापालाई आपराधिक लाभको कसुरमा दोषी ठहर गरेको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले हनी ट्रयापको कसुरमा थुनामा रहेकी उनलाई दोषी ठहर गरेको हो । देवी थापासँगै अर्का आरोपी सुदर्शन सापकोटा पनि दोषी ठहर भएका छन् ।
अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न ती युवतीलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको काठमाडौंँ जिल्ला अदालतका सूचना अधिकारी सिपी पन्थीले जानकारी दिनुभयो । थापाबाट पीडितलाई ७ लाख बिगो भराउने फैसला समेत भएको छ ।
यस्तै, अर्का प्रतिवादी सुदर्शन सापकोटालाई ७ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तथा पीडितलाई २ लाख बिगो भराउने फैसला भएको छ । काठमाडौं जिल्ला अदालतमा २०७८ साल मंसिर ६ गते दर्ता भएको आपराधिक लाभ ९हनी ट्रयाप०को मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो ।
सुनकोशी गाउँपालिका–१ बलखु, ओखलढुंगा माइती घर भएकी देवी थापालाई यसअघि काठमाडौं जिल्ला अदालतले ३ लाख ५० हजार रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको थियो । थापाले धरौटी बुझाएपनि अन्य मुद्दामा दोषी ठहर भएपछि उनी जेलमै थिइन् ।
थापाले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुङ्गाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ लिएकी थिइन् ।
रकम लिई फिर्ता माग्दा देवी थापाले दिपेन्द्र थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमै बलात्कारको मुद्दासमेत दिएकी थिइन् । सो मुद्दामा दीपेन्द्र थापाले सफाइ पाएका थिए ।
प्रतिक्रिया दिनुहोस्