इटहरी, फागुन १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको इटहरी–४ स्थित कचना बुढिगङ्गा महादेव माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा उक्त विद्यालयका लागि बजेट निकासा भएको थियो । बुधबार ओलीले भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्दै ओलीले आफ्नो रुचि भवन उद्घाटनमा नभएर शिक्षा क्षेत्रमा बजेट छुट्याउनमा रहेको बताउनु भयो ।
सो बिद्यालय भवन उदघाटन ओलीबाट हुन नदिन इटहरीका मेयरले खुलेरै षडयन्त्र गरेका थिए । सोही बिषयमा उनको नाम नदिई अध्यक्ष ओलीले उदघाटन जस्ले गरे पनि हुने बताउनु भएको हो । ‘उद्घाटन वडाध्यक्षले गरे पनि हुन्छ, बजेटका लागि सम्झनुहोस, बरु मेरो शिल्यान्यासमा रुचि छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
ओलीले आफू प्रधानमन्त्री हुँदा छुट्याएको बजेटबाट धेरै ठाउँमा विद्यालय बनेको र यस विद्यालयका लागि थोरै मात्र बजेट माग भएकोमा आफूले एकीकृत योजना ल्याउन लगाएको स्मरण पनि उहाँले गराउनु भयो ।
२०३९ सालमा स्थापना भएको सो विद्यालयको नयाँ भवन नौ करोड ८६ लाख आठ हजार ९२८ रुपियाँ नेपाल सरकारको विशेष अनुदानमा निर्माण भएको हो । भवन उद्घाटन कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्रीद्वय भीम आचार्य, शेरधन राई लगायत नेताहरूको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्