जनता टाइम्स

८ आश्विन २०७६, बुधबार ०८:५५

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री ज्ञवालीको सम्वोधन शुक्रबार


न्युयोर्क, असोज ८

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुभएको छ । त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्रसङ्घको महत्व र भूमिकाको चर्चा गर्नुभयो ।

प्रतिरोधात्मक कूटनीति, दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहयोग, अन्तरराष्ट्रिय कानूनको परिपालना तथा मानवअधिकारको प्रवद्र्धनमा जोड दिँदै उहाँहरुले बहुपक्षीयतावादलाई सुदृढ तुल्याउनुपर्ने बतानुभयो । महासभामा १८८ देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख र सदस्य मुलुकका प्रतिनिधिमण्डलका प्रमुख यही असोज १३ गतेसम्म यहाँ हुने उच्चस्तरीय बैठकहरुमा सहभागी हुनेछन् ।

महासभामा मन्त्री ज्ञवालीले यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि असोज १३ गते नेपालले महासभामा सम्बोधन गर्ने कार्यक्रम निर्धारण गरिएको थियो । आजै मन्त्री ज्ञवाली दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा पनि सहभागी हुनुभयो । दिगो विकासका लक्ष्य हासिल गर्ने सन्दर्भमा हालसम्म भएका प्रगति, कार्यान्वयनको समीक्षा र चुनौतीबारे बैठकमा गहन छलफल भएको थियो ।

राष्ट्र–राष्ट्रबीच सहकार्य र साझेदारीको माध्यमबाट नै दिगो विकासका लक्ष्य हासिल गर्न सम्भव हुनेमा सबै सहभागीको मतैक्यता थियो । गत भदौ ३१ गतेदेखि प्रारम्भ भएको ७४औँ महासभा बैठकको शीर्षक ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ । यसैबीच मन्त्री ज्ञवाली महासचिव गुटरेसले आयोजना गर्नुभएको राजकीय दिवाभोजमा सरिक हुनुभयो भने संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी धर्मपत्नी मेलिना ट्रम्पले आयोजना गर्नुभएको स्वागत समारोहमा श्रीमती सरस्वती ज्ञवालीका साथ सहभगी हुनुभयो ।