जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार ०८:१२

सडक दुर्घटनामा परि अमेरिकामा दुई नेपालीको मृत्यु


बोस्टन, असोज ९

अमेरिकामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । केन्टकी राज्यमा बुधबार गाडीको ठक्करबाट नेपालबाट घुम्न आएका एक नेपालीको मृत्यु भएको हो । स्थानीय प्रहरीका अनुसार नेपालबाट घुम्न आएका विष्णुप्रसाद सापकोटा लेक्जिङ्गटन शहरमा दुर्घटनामा पर्नुभएको हो ।

बुधबार बिहान घुम्न निस्कनु भएका सापकोटा रिचमण्ड रोड र न्यु सर्कल रोड आसपासमा दुर्घटनामा पर्नुभएको थियो । प्रहरीका अनुसार बिहान ७ बजेर २० मिनेटमा दुर्घटनामा पर्नुभएका उहालाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो । उहाको युनिभर्सिटी अफ केन्टकी अस्पतालमा मृत घोषित गरिएको थियो । पारिवारिक स्रोतका अनुसार नेपाल बर्दिवास, महोत्तरी घर भई ३ हप्ता अघिमात्र छोरी बिनिता सापकोटा तथा ज्वाई रोशनराज घिमिरेलाई भेट्न आउनु भएको थियो । सँगै घुम्न निस्केकी उहाकी श्रीमति विमला सापकोटाको भने हाल युनिभर्सिटी अफ केन्टकी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा मङ्गलबार सडक दुर्घटनामा पर्दा कर्णबहादुर सुवेदीको मृत्यु भएको छ । दुर्घटनामा घाइते कर्णबहादुर सुवेदीको उपचारको क्रममा मृत्यु भएको स्थानीय ल्यानकास्टर अनलाइनले जनाएको छ । सडक पार गर्ने क्रममा स्टोन मिल रोडमा मंगलबार दिउँसो १ बजेर ४४ मिनेटमा गाडिले ठक्कर दिँदा गम्भीर घाइते भएका नेपाली–भाषी भूटानी सुवेदीलाई उपचारका लागि नजिकैको ल्यानकास्टर जनरल अस्पताल लगिएको थियो । ६१ वर्षीय सुवेदी डोगना भूटानमा जन्मिएपनि सन् २०१२ मा पुनर्वासका क्रममा सपरिवार अमेरिकामा आउनु भएको थियो ।