जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १२:१९

तालिवानले फेरि बनायो महिलालाई सार्वजनिक स्थलमा ढुंगाले हानेर मार्ने कानून


काबुल, १४ चैत । अफगानिस्तानमा फेरी अबैध सबन्ध राख्ने महिलालाइ ढुंगाले हानेर मारिने नियम बनाइएको छ ।

तालिवान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अबैध सबन्ध राख्ने महिलाइ सार्बजनिक स्थलमा ढुंगाले हानेर मारिनेछ । उहाँका अनुसार कुनै पनि महिला व्यभिचार गरेको अर्थात आफ्नो पति बाहेक अरूसँग यौनसम्बन्ध राखेको दोषी पाइएमा ढुङ्गाले हानेर मारिनेछ ।

एक अडियो सन्देशमा अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिदैँ इस्लामिक कानून शरियालाई कडाइका साथ लागू गर्न आदेशसमेत दिनुभएको छ । उहाँले भन्नुभयो,‘ढुङ्गाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुनेछ । दोषी महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा र ढुङ्गाले हिर्काइने छ ।’

अखुन्दजादाले भन्नुभयो, ‘के महिलाहरूले पश्चिमा देशहरूको कुरा गरिरहेका अधिकार चाहन्छन् ? त्यस्ता सबै अधिकारहरू शरिया र धर्मगुरुहरूका राय विरुद्ध छन् । पश्चिमा लोकतन्त्रलाई उखालेर फाल्ने उही धर्मगुरुहरू हुन् । हामीले पश्चिमाहरू विरुद्ध २० वर्ष लड्यौं र आवश्यक परे आगामी २० वर्षसम्म लड्नेछौं ।’ तालिबान नेताले अगाडी यो पनि थप्नुभयो,‘हामीले काबुललाई पुनः कब्जा गरेर मात्रै हाम्रो काम सकिएको छैन, हामी चुपचाप बसेर चिया पिउने छैनौं । हामी अफगानिस्तानमा शरिया फिर्ता गर्नेछौं ।’

अफगानिस्तानमा सत्तामा आएपछि तालिबानले महिला अधिकार हनन नगर्ने आश्वासन दिएको थियो । यति हुँदाहुँदै पनि त्यहाँ उनीहरुको अधिकार निरन्तर कुण्ठित भइरहेको छ । पहिलो, किशोरीहरूको माध्यमिक र उच्च विद्यालय शिक्षामा प्रतिबन्ध लगाइयो भने त्यसपछि उनीहरूलाई विश्वविद्यालय शिक्षा हासिल गर्न रोकिएको छ ।

अधिकांश कामबाट महिलाहरूलाई हटाइयो वा तिनीहरूको ठाउँमा आफ्नै परिवारका एकजना पुरुषलाई नियुक्त गरिएको छ भने अफगानिस्तानमा ब्यूटी पार्लर जाने र खेलकुद खेल्ने जस्ता महिलाहरूको धेरैजसो गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।