जनता टाइम्स

९ बैशाख २०८१, आईतवार २०:०२

ओमानलाई हराउँदै युएई एशिया कपमा छनौट


काठमाडौं, ९ बैशाख । युएई २०२५ को टी–२० एशिया कपमा छनौट भएको छ । एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमानलाई ५५ रनले पराजित गर्दै युएई एशिया कपका लागि छनौट भएको हो ।

युएईले दिएको २०५ रनको लक्ष्य पछाएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले कप्तान मुहमद वासीमको शतकको मद्धतले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

एसीसी प्रिमियर कपको उपाधि जितेको युएईले अब एशिया कप खेल्ने छ । त्यस्तै युएईसहित उपविजेता ओमान र तेस्रो भएको हङकङले इमर्जिङ टिम्स एशिया कप खेल्ने छन् । यस प्रतियोगितामा सेमिफाइनलमा युएईसँग पराजित भएको नेपाल तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग पनि पराजित भएको थियो ।