जनता टाइम्स

१९ बैशाख २०८१, बुधबार १८:४९

क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय


काठमाडौं, १९ बैशाख । क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई चार महिनाको जेल सजाय सुनाइएको छ । झाओलाई अमेरिकी सम्पत्ति शुद्धीकरण विरोधी कानूनको उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश रिचर्ड जोन्सले यो सजाय सुनाउनुभएको हो । अदालतले क्रिप्टोकरेन्सी एक्सचेन्जमा ४.३२ बिलियन डलर जरिवाना पनि लगाएको छ ।

जबकि, झाओले ५० मिलियन डलर जरीवानाका साथै युएस कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसनलाई ५० मिलियन डलर तिरिसकेका छन् । विनान्सलाई अपराधीहरूलाई फाइदा हुने ‘वाइल्ड वेस्ट’ मोडल अपनाएको आरोप लागेको थियो । यस मोडल मार्फत हमास, अल–कायदा र इस्लामिक स्टेट लगायतका ठूला आतंकवादी संगठनहरूको एक लाख संदिग्ध लेनदेन रिपोर्ट गरिएका थिए । झाओको एक्सचेन्जले बाल यौन दुर्व्यवहार सामग्रीको व्यापारलाई समर्थन गरेको आरोप लगाइएको छ ।

झाओले अदालतमा भन्नुभएको थियो,‘मलाई माफ गर्नुहोस्, म विश्वास गर्छु कि जिम्मेवारी लिने पहिलो चरण गल्तीहरू पूर्ण रूपमा पहिचान गर्नु हो । यहाँ म एन्टि मनी लान्ड्रिङ ऐन लागू गर्न असफल भएँ, त्यो गल्तीको गम्भिरता महसुस गरेको छु ।’ झाओ क्रिप्टो बजारमा  CZ को रूपमा चिनिन्छन् । झाओ जेल जाने अमेरिका र सम्भवतः संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । ब्लूमबर्गका अनुसार झाओको कुल सम्पत्ति करिब ४३ अर्ब डलर रहेको छ ।

गत वर्ष नोभेम्बरमा अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्डले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सलाई ४.३ अर्ब डलर जरिवाना लगाएका थिए । त्यसपछि झाओले आफ्नै कम्पनीबाट राजीनामा दिनुपरेको थियो । साथै आगामी ३ वर्षसम्म कम्पनीमा कुनै पनि व्यवस्थापकीय पदमा बस्न प्रतिबन्ध लगाइएको छ । बिनान्स २०१७ मा सुरु भएको थियो । बिनान्ससँग यसको इकोसिस्टममा धेरै क्रिप्टो एक्सचेन्जहरू छन् जुन यसले अधिग्रहण र निर्माण गरेको छ । यस बाहेक, यसको आफ्नै क्रिप्टोकरेन्सी, धेरै क्रिप्टो वालेटहरू र नयाँ क्रिप्टोकरन्सीहरू सुरू गर्न लन्चप्याड पनि छ ।